विराटनगर । कोशी प्रदेशले भदौ र असोज महिनामा दुई ठूला संकटको सामना गर्यो । जसले प्रदेशमा मानवीय र भौतिक रूपमा ठूलो क्षति पु¥याएको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको घाउ आलो नै रहँदा, असोज १८ र १९ गतेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले प्रदेशलाई थप पीडा दियो ।

‘भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदेशमा ठूलो मानवीय क्षति भयो,’ आइतबार संसदीय पत्रकार मञ्ले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यले भने, ‘मन्त्रालयको तथ्याङ्कअनुसार सो आन्दोलनका क्रममा १६ जना प्रदेशवासी नागरिकको मृत्यु भयो । ज्यान गुमाउनेमा झापाका ३ जना, सुनसरीका २ जना, धरानका ४ जना र विराटनगरका १ जना थिए । यसैगरी, काठमाडौंमा मृत्यु भएका तर कोशी प्रदेशका स्थायी बासिन्दा रहेका ५ जना र रामेछाप कारागारमा प्रहरीसँगको भिडन्तमा मारिएका १ जना पनि कोशी प्रदेशकै थिए ।’ उनका अनुसार आन्दोलनका क्रममा सुरक्षाकर्मी र सर्वसाधारण दुवैतर्फ ठूलो संख्यामा घाइते भए । १ सय ३० जना प्रहरी घाइते भए भने ४६ जना सर्वसाधारण तथा आन्दोलनकारी घाइते भए ।

मानवीय क्षतिसँगै आन्दोलनले प्रदेशको भौतिक संरचनामा पनि दूरगामी असर पारेको छ । प्रदेशभरिका १७० वटा सरकारी संरचनामा क्षति पुगेकोमा ५० वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । फर्निचर, उपकरण, सूचना प्रविधि र अन्य सामग्रीमा भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

चारपाङ्ग्रे सवारी साधन मात्रै ६४ वटा पूर्ण क्षति भएको छ भने ३० वटा मर्मत गर्न सकिने र १६ वटा लिलाम गर्नुपर्ने अवस्थामा छन् । दुईपाङ्ग्रे सवारी साधन् १७६ वटा पूर्ण क्षति, १२० वटा मर्मत गर्न सकिने र ७६ वटा लिलाम गर्नुपर्ने अवस्थामा छन् । विशेषगरी, यातायात व्यवस्था कार्यालय, इटहरीको संरचना पूर्ण रूपमा ध्वस्त भएको छ र प्राविधिक टोलीले उक्त भवनलाई ‘रेड जोन’मा राखेको छ, जसले गर्दा सेवा प्रवाह अनिश्चितकालका लागि बन्द भएको छ । यसले प्रदेशको राजस्व संकलन र नागरिक सेवामा प्रत्यक्ष असर पारेको छ ।

आन्दोलनको क्षतिबाट तङ्ग्रिन नपाउँदै दशैंको मुखमा असोज १८ र १९ गतेको अविरल वर्षाले कोशी प्रदेशमा अर्को विपत्ति निम्त्यायो । बाढी र पहिरोका कारण प्रदेशले थप ४८ जना नागरिक गुमाउनुप¥यो । यस विपत्तिको केन्द्रविन्दु इलाम जिल्ला बन्यो, जहाँ मात्रै ३९ जनाको मृत्यु भयो । पाँचथर, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा र भोजपुरमा गरी ९ जनाको ज्यान गयो । यो प्राकृतिक विपत्तिले घर, खेतीयोग्य जमिन र सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको छ, जसको विस्तृत विवरण संकलन गर्ने काम जारी छ ।

‘दुवै संकटपछि प्रदेश सरकार राहत, उद्धार र पुनस्र्थापनाको काममा जुटेको छ । बाढीपहिरो पीडितका लागि तत्काल राहत सामग्री (खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट) वितरण गरिएको छ,’ आचार्यले भने, ‘मृतकका परिवारलाई प्रदेश सरकारको मापदण्डअनुसार प्रतिपरिवार पहिलो मृतकका लागि १ लाख र सोही परिवारमा थप मृतक भएमा प्रतिव्यक्ति ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । यसअनुसार हालसम्म ३४ लाख ५० हजार रुपैयाँ वितरण भइसकेको छ ।’

आन्दोलनबाट क्षति भएका संरचना र सवारी साधनको बीमा दाबी, लिलाम प्रक्रिया र पुनर्निर्माणका लागि पनि सरकारले काम अघि बढाएको छ । विशेषगरी, यातायात कार्यालयको सेवा सुचारु गर्न अस्थायी टहरा निर्माण गर्ने र सेवालाई सहज बनाउन बाधा अड्काउ फुकाउको निर्णय भइसकेको उनले बताए ।