विराटनगर । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले तत्काल विद्युत सुचारु गर्न माग गरेको छ ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।

“डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगबीच लामो समयदेखि समाधानविहीन बनेको छ’ संगठनले भनेको छ, ‘सरकार परिवर्तनसँगै पटकपटक विवाद बल्झँदा समग्र निजी क्षेत्रलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने वातावरण बनेको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।’ संगठनका अनुसार, उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश गएको छ ।

उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा गम्भीर असर परेको संगठनले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्न विज्ञप्तिमा माग गरिएको छ ।

उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गरेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको बक्यौता भुक्तानी नगरेको भन्दै दुई दर्जन उद्योगको विद्युत कटौती गरिदिएको छ ।