विराटनगर । मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको बेमौसमी अविरल वर्षा र हिमपातले कोशी प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षापछिको बाढी र पहिरोले यस क्षेत्रका मुख्य राजमार्ग र सडक सञ्जालहरू ठप्प भएका छन्, हजारौँ पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् भने किसानहरूले लगाएको बालीनालीमा ठूलो क्षति पुगेको छ ।
अविरल वर्षाले पूर्वी नेपालका अधिकांश मुख्य राजमार्ग र सडकहरूमा क्षति पु¥याउँदा यातायात सञ्जाल लगभग ठप्प भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका कारण कम्तीमा चारवटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् र ती स्थानमा वैकल्पिक मार्गसमेत छैन ।
झापाको शिवसताक्षीस्थित भालुखोलामा निर्माणाधीन पुलको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । इलामको राजदुवाली सडकखण्ड भासिँदै र चिरा पर्दै गएपछि पूर्ण रूपमा बन्द गरिएको छ । यसको वैकल्पिक मार्ग मानिएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक पनि पहिरोले अवरुद्ध छ । राजमार्ग बन्द हुँदा ताप्लेजुङ र पाँचथरबाट झापातर्फ आउने–जाने सवारी साधनहरू रोकिएका छन् ।
धनकुटाको साँगुरीगढी–६ कोल्बोटेमा सडक भासिएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने भेडेटार नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमानामा पर्ने नावाखोलामा पानीको बहाव अत्यधिक बढेपछि यो सडकखण्ड बन्द गरिएको छ ।
पाँचथरमा मध्यपहाडी राजमार्गको रिजालभीर खण्ड, फिदिम–फालौट सडक र धनकुटाको रवि–राँके–भेडेटार सडक पनि पहिरोका कारण अवरुद्ध बनेका छन् । ओखलढुङ्गामा सिद्धिचरण लोकमार्ग भन्डारे खोलामा आएको बाढीले अवरुद्ध छ । सडकहरू खुल्ने निश्चित नहुँदा र वैकल्पिक मार्ग नहुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न सकस भएको छ ।
पर्यटनको मुख्य सिजनमै मौसम प्रतिकूल बन्दा खुम्बु क्षेत्रमा मात्रै करिब साढे पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । लगातारको वर्षा र हिमपातले चार दिनदेखि उडान हुन नसक्दा तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा करिब छ सयभन्दा बढी पर्यटक रोकिएका छन् । पर्यटकको चापले लुक्ला र सुर्केमा होटल अभाव भएको छ । आधारशिविर क्षेत्र, गोरक्क्षेप, लोबुचे, दिङबुचे र नाम्चेबजारमा हजारौँ पर्यटक रोकिएका छन् । उता, ताप्लेजुङको सुकेटार विमानस्थलमा पनि पाँच दिनदेखि उडान हुन नसक्दा काठमाडौं जाने यात्रुहरू रोकिएका छन् ।
यही मौकामा सुर्केबाट सल्लेरी जाने जीपहरूले प्रतिव्यक्ति ३ हजार लाग्ने भाडा १० हजारसम्म असुल्न थालेको गुनासो आएको छ । जसले नेपालको पर्यटनमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।
असामान्य वर्षाले भित्र्याउने बेला भएको धानबाली र भर्खरै लगाइएको तोरीबालीमा ठूलो क्षति पु¥याएको छ । झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लामा काटिसकेको र काट्न तयार भएको धान खेतमै डुबेको छ । जसले गर्दा किसानहरू ठूलो मारमा परेका छन् । रोपिएको आलु खेतीमा पानी जम्दा बिउ कुहिने चिन्तामा किसान छन् । मौसमविद्हरूले वर्षा शनिबारसम्म जारी रहने अनुमान गरेकाले किसानको चिन्ता झनै बढेको छ ।
लगातारको वर्षाका कारण मोरङ र सुनसरीका अधिकांश भूभाग जलमग्न भएका छन् । विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै शुक्रबार शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरे । खोलानालामा पानीको बहाव बढेको छ भने उत्तरी पहाडी क्षेत्रमा अत्यधिक हिमपातले जनजीवन थप कष्टकर बनेको छ । स्थानीय प्रशासन र सरकारले क्षति न्यूनीकरणका लागि सक्रिय रहेको जनाएका छन् ।


 
						 
															 
															 
															 
															 
															 
															