वीरेन्द्र सभागृह जोगाउने अनमोललाई विराटनगर महानगरले सम्मान गर्ने

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरवका रुपमा रहेको वीरेन्द्र सभागृह तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले सम्मान गर्ने भएको छ ।

जेनजी आन्दोलनमा सहभागी २३ वर्षीय अनमोल लिम्बूलाई महानगरपालिकाले कार्यालयमै बोलाएर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइदिएर औपचारिक रुपमा धन्यवाद दिँदै सम्मान गर्ने बताएका हुन् ।

अनमोललाई महानगरले विशेष अवसर पारेर सम्मान गर्नेसमेत जनाएको छ । ‘अनमोलको प्रयासका कारण वीरेन्द्र सभागृह आगजनी र तोडफोड हुनबाट जोगिएको छ,’ प्रमुख कोइरालाले भने, ‘उनलाई हामी विशेष अवसर पारेर सम्मान गर्ने योजनामा छौं ।’

गत भदौ २४ गतेको आन्दोलनका क्रममा विराटनगरका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा अनमोलसहितका केही युवाको सकारात्मक प्रयासले वीरेन्द्र सभागृह आगजनी हुनबाट जोगिएको थियो ।

नगर विकास कोषसँग ऋण लिएर महानगरले वीरेन्द्र सभागृहको पुनर्निर्माण गरेको हो । २ वर्षभन्दा लामो समय लगाएर करिब २३ करोड लगानीमा पुनर्निर्माण गरिएको सभागृह विराटनगरकै गौरवका रुपमा रहेको छ । सभागृहलाई भाडा लगाएर त्यसबापत प्राप्त आम्दानीबाट नगर विकास कोषको सावा र ब्याज भुक्तानी गर्नेछ । हाल पनि महानगरले कोषको सावा र ब्याज भुक्तानी गरिरहेको छ । २०३० सालमा निर्माण गरिएको सभागृह निकै जीर्ण बनेको थियो । जीर्णोद्वारपछि भने सभागृह निकै आकर्षक देखिएको छ ।

कार्तिक १४, २०८२, साँझको ०५:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर