विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवाद वार्ता र संवादमार्फत छिटो समाधान गर्न आग्रह गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले विद्युत आपूर्तिमा आएको अवरोधका कारण कोशी प्रदेशका केही उद्योग बन्द भई उत्पादन र स्थानीय रोजगारीमा समेत असर परेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विद्युत समस्या समाधानका लागि सबै पक्षबीच समन्वय र संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री कार्कीले विद्युत प्राधिकरण र उद्योगीबीचको विवाद लामो समयदेखि रहँदै आएको र यसले आर्थिक क्षेत्रलाई नकारात्मक असर पारेको उल्लेख गरेका छन् । उनले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा उद्योग, सुपर मार्केट, कलकारखाना तथा सञ्चार क्षेत्रमा तोडफोड र आगजनीजस्ता घटनाले स्वदेशी र विदेशी लगानीकर्तामा असुरक्षा र निरुत्साह बढाएको स्मरण गर्दै यस्तो अवस्था नदोहरिने वातावरण बनाउन आग्रह गरेका छन्।
राज्य र निजी क्षेत्रबीचको असमझदारी दीर्घकालीन रूपमा रहनु दुःखद भएको भन्दै कार्कीले उद्योगको विद्युत आपूर्ति बन्द हुँदा उत्पादन र आर्थिक क्रियाकलापमा असर परिरहेको बताए । मुख्यमन्त्री कार्कीले यस समस्याको दिगो समाधानका लागि नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच छलफल र वार्ता सञ्चालन गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “राज्य र निजी क्षेत्रबीचको विश्वास बहाली गरी सबै पक्षको हित हुने गरी समस्या समाधान गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।” विज्ञप्तिमा कोशी प्रदेश सरकार संवाद र समाधानको वातावरण निर्माणमा सधैं प्रतिबद्ध रहने उल्लेख छ।
मुख्यमन्त्री कार्कीले विद्युत आपूर्तिको अवरोधले सिर्जित परिस्थितिको गम्भीर अध्ययन गरी उद्योग, व्यापार, र रोजगारजस्ता क्षेत्रलाई पुनःसञ्चालन गर्न समन्वय गर्न पनि आग्रह गरेका छन् ।



 
						 
															 
															 
															 
															 
															 
															