विराटनगरबाट उडेको श्री एयरलाइन्सको जहाज डेढ घण्टा आकासमा फन्को मारेर पुनः विराटनगर फर्कियो

विराटनगर । विराटनगरबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज १ घण्टा ३८ मिनेट काठमाडौंको आकाशमा बिताएर पुनः विराटनगर फर्किएको छ ।

बिहीबार बिहान विराटनगरबाट काठामाडौँको लागि उडेको श्री एयरलाइन्सको जहाज १ घण्टा ३८ मिनेट आकाशमा बिताएर फेरि विराटनगर नै फर्किएको हो ।

खराब मौसमका कारण श्री एयरलाइन्सको विमान काठमाडौँ अवतरण हुन नसकेपछि पुनः विराटनगर नै फर्किएको हो । जहाजमा रहेका नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले श्री एयरलाइन्सको फ्लाइट नम्बर ७३२ काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी पुनः विराटनगर फर्किएको जानकारी दिएका छन् ।

घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘श्री एयरलाइन्सको जहाज फ्लाइट नम्बर ७३२ को जहाज खराब मौसमका कारण काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडानपछि पुनः विराटनगर फर्कियौँ।’

काठमाडौँमा कम भिजिबिलिटी भएको कारण अवतरण गर्न नसकेर विमान बिराटनगर फर्किएको विराटनगर श्री एयरलान्सले जनाएको छ । काठमाडौँमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।

काठमाडौँको मौसम खराब हुँदा विमान अवतरणमा समस्या भएको हो । मोन्था चक्रवातको कारण आज विहानदेखि देशभरको मौसम प्रतिकुल बनेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा कोशी, मधेश र काठमाडौंमा हल्का वर्षा भइहरेको छ ।

काठमाडौंको प्रतिकूल मौसमका कारण अन्तराष्ट्रिय उडानहरु पनि प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो । मौसमको प्रतिकुलता अझै थपिने मौसमविद्हरुले बताएका छन् ।

कार्तिक १३, २०८२, दिउँसोको १२:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर