विराटनगर । कोशी प्रदेशसहित देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

एकसाथ पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी, मधेश र बाग्मती प्रदेशमा वर्षा तथा पहाडी र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना देखिएको मौसमविद् डा.विनोद पोखरेलले पनि बताएका छन् । सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा उनले बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरबसागरको न्यूनचापीय प्रणालीले यति बेला नेपालभरि बादल ल्याइरहेको जानकारी दिएका हुन् ।

कात्तिक १४–१५ गते काठमाडौंलगायत पूर्वी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित हुनसक्ने अनुमान मौसमविद्को छ । खासगरी इलाममा पुनः विशेष सतर्कताको आवश्यकता देखिएको उनीहरुले औल्याएका छन् ।

मौसमविदहरूले मधेस तथा कोशी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरेका छन् । मंगलबारदेखि शनिबारसम्म महोत्तरीमा २०६.४, वीरगन्जमा २१५.२, विराटनगरमा १४२.४, खाँदबारीमा १३२.७, काठमाडौंमा ८६.२, पोखरामा २३, घोराहीमा १०.५, जाजरकोटमा ११.९, धनगढीमा १.६ मिलिमिटरसम्म वर्षाको प्रक्षेपण गरेका छन् ।

पश्चिम नेपालमा भने हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको बताइएको छ । उच्चपहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याइएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पश्चिम नेपालका केही स्थानमा सोमबार रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।
महाशाखाले गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

यस पटकको सम्भावित हिमपातरवर्षाको कारणले दैनिक जन–जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने विभागले जनाएको छ।