विराटनगर । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार हुँदै पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१–८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात बृद्धि भएको छ । यो अबधिमा ५ करोड ९० लाख ३३ हजारको अर्थात् १.३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो ।
आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ३.२० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ५ हजार रुपैयाँले बढेको छ । कार्यालयको तथ्यांकानुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। उक्त अवधिमा २ अर्ब ३२ करोड ७८ लाख मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो भने १ अर्ब २६ करोड १५ लाख मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।
तीन महिनाको अवधिमा ६२ करोड ८१ लाख मूल्य पर्ने ६ हजार ३६१ मेट्रिक टन एलपी ग्यास, २० करोड २६ लाख मूल्य पर्ने २ हजार २५६ किलोलिटर एटीएफ र ३ करोड ७९ लाख मूल्य पर्ने ४२० किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ । काँकडभिट्टा नाकाबाट आयात भएको पेट्रोलियम पदार्थ नेपाल आयल निगमको चारआली डिपोले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा सप्लाई गर्ने गरेको छ ।

