विराटनगर । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बेला ताप्लेजुङ घर भएका सीपी कडरिया अखिल क्रान्तिकारीको केन्द्रीय नेता थिए। अखिल क्रान्तिकारीको मेची कोशी इन्चार्जको रुपमा उनले यस क्षेत्रका सबै जिल्लाहरू त्यहीबेला भूमिगत रुपमै घुमेका थिए ।
जनयुद्धकै बेला पार्टीको इलाम जिल्ला सेक्रेटरी सहितका जिम्मेवारी सम्हालेका उनी अहिले पनि नेकपा माओवादी केन्द्रको झापा जिल्ला सहइन्चार्ज छन्। जनयुद्धबाटै माओवादीमा पूर्णकालीन राजनीति गरिरहेका उनको परिचय अहिले भने त्यतिमा सीमित छैन।
कडरिया अहिले हातमा माटो र मल समातिरहेको अवस्थामा भेटिन्छन् । सशस्त्र संघर्षको समयमा तत्कालीन नेकपा (माओवादी) को जिल्ला सेक्रेटरीका रूपमा युद्धको नेतृत्व गरेका उनी अहिले इलाममै नगदे बालीको रूपमा परिचित मिठो फल ‘किवी खेती’का अगुवा बनेका छन्।
दुई दशकअघि राजनीतिक व्यवस्था परिवर्तनको सपना देखेका कडरियाको अबको लक्ष्य आर्थिक समृद्धि हो । “राजनीतिक क्रान्तिले व्यवस्था फेर्यो । तर, जनताको अवस्था फेर्न आर्थिक क्रान्ति अनिवार्य रहेछ,” उनले भने, “अब वर्गसंघर्ष उत्पादनसँग जोड्नुपर्ने समय आएको छ। अरूलाई उपदेश दिनुभन्दा आफैंले गरेर देखाउनुपर्छ भनेर म माटोसँग जोडिएको हुँ।”

राजनीतिबाट उत्पादनतर्फको मोड
शान्ति प्रक्रियापछि मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनीसँग ठूलो प्रश्न थियो— अब के गर्ने ? पार्टीको हेटौँडा महाधिवेशनले कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति पारित गरेपछि कडरियाले त्यसलाई व्यवहारमा उतार्ने निर्णय गरेका थिए ।
२०७६ सालमा उनले केही सहकर्मीहरूसँग मिलेर ‘सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी’ दर्ता गरे । उनका अनुसार यो कम्पनी केवल राजनीतिक नारा होइन, फरक–फरक पृष्ठभूमिका मानिसहरूको साझा सपना थियो । कम्पनीमा पूर्वराजनीतिकर्मी, व्यवसायी र बहालवाला कर्मचारीसम्मको सहभागिता छ।
कडरियासहितको समूहले इलामको सन्दकपुर–२ मा ३५० रोपनी जग्गा खरिद गरी करिब पाँच करोड रुपैयाँ लगानीमा व्यावसायिक कृषि सुरु गरियो । अहिले उनीहरूले १५० रोपनीमा किवी, ३० रोपनीमा ओखर र बाँकी क्षेत्रमा लोटसल्ला खेती गरेका छन् ।
मुलुकको समृद्धिको लागि नागरिकले पनि आफ्नो ठाउँबाट योगदान दिनुपर्छ भन्ने सोचेर कृषि पेशामा आबद्ध भएको उनी बताउँछन्। राजनीतिक कार्यकर्ताहरूले जनतासँग जोडिनको लागि पनि उत्पादनमा सक्रिय हुनुपर्ने उनको भनाइ छ “भ्रष्टाचार अन्त्य गर्न पनि पहिले आत्मनिर्भर हुनुपर्छ,” कडरिया भन्छन्, “उत्पादन र उद्यमशीलतामा नजोडिएका कार्यकर्तालाई अब जनताले पत्याउँदैनन्।”

‘किवी’ रोज्नुको कारण
कडरियाका अनुसार, किवी खेती केवल फेसन होइन, गहिरो अध्ययनको परिणाम हो। खेती सुरु गर्नु अगाडि लामो अध्ययन र रिसर्च गरेको उनी बताउँछन् । उनले चीनको सिन्चेन प्रान्तको उदाहरण दिँदै भने, “त्यहाँका किसानले किवी खेती शुरू गरेपछि प्रतिव्यक्ति आय ७०० गुणाले वृद्धि भएको छ। नेपालमा पनि यो आर्थिक विकासको खेल बदल्ने क्षमता बोकेको फल हो।”
इलामको हावापानी र माटो किवी खेतीका लागि आदर्श भएको उनले बताए। यही कारण अहिले इलाम पूर्वी नेपालको ‘किवी जोन’ बन्ने बाटोमा छ।
रोजगारी र आम्दानी
गत वर्ष कम्पनीले पहिलोपटक २५ क्विन्टल किवी उत्पादन गरेको थियो। यो वर्ष उत्पादन चार गुणाले बढेर करिब १०० क्विन्टल (१० टन) पुग्ने अनुमान गरिएको छ। “किवीको उत्पादन ज्यामितीय अनुपातमा बढ्छ — २, ४, ८, १६ गर्दै,” उनी उत्साहित हुँदै भन्छन्, “यो वर्ष खर्च धान्ने अवस्थामा पुग्छौं, अर्को वर्षदेखि कम्पनी नाफामा जानेछ।”
कृषि कम्पनी सञ्चालनले स्थानीय रोजगारीको अवसर पनि बढेको छ। वार्षिक ५०० देखि ८०० जना स्थानीय बासिन्दाले ज्यालादारीमा काम पाउने गरेका छन्। यसले गाउँमै आम्दानीको अवसर सिर्जना गरेको छ र युवालाई विदेश पलायन रोक्ने सन्देश दिएको छ।
‘किवी उद्योग’ विस्तारको लक्ष्य
कडरिया अहिले केवल किसान होइनन्, नेपाल किवी उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष पनि हुन्। संघमार्फत उनी किवी खेतीको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि पहल गरिरहेका छन्।
नेपाल सरकारका तथ्यांकअनुसार, देशभर वार्षिक करिब १२ करोड ६८ लाख केजी किवी उत्पादन हुन्छ । तर यसको बजार अझै सीमित छ। “भारत हाम्रो प्रमुख लक्ष्य बजार हो,” उनले भने, “त्यहाँ वार्षिक ६० करोड केजी किवीको माग छ । तर, उत्पादन १३ करोड केजी मात्र। बाँकी ४७ करोड केजीको बजार खाली छ, जुन हामीले गुणस्तरीय उत्पादनले भर गर्न सक्छौं।”
हाल कडरियाको कम्पनीले उत्पादन गरेको किवी बिर्तामोडका व्यापारीलाई प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ। भविष्यमा प्रशोधन गरेर जुस, वाइन र क्यान्डी जस्ता उत्पादन बनाउने योजना पनि अघि बढाइएको छ।
‘क्रान्ति’को नयाँ स्वरूप
कुनै समय बन्दुक समातेका सीपी कडरिया अहिले माटो समाएर नयाँ प्रकारको क्रान्ति गरिरहेका छन्— उत्पादन र आत्मनिर्भरताको क्रान्ति। जहाँ कहिल्यै राजनीतिक युद्धको आगो बल्थ्यो, आज त्यही ठाउँमा हरियाली किवीका लहराहरू फुलिरहेका छन्।
उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, समग्र नेपाली युवालाई प्रेरणा हो— “देशभित्रै सम्भावना छ, माटोमै भविष्य छ।”
