विराटनगर । रंगेली नगरपालिकाले रंगेली अस्पतालमा मोडुलर अपरेशन थिएटर (ओटी) र पोस्ट–अपरेटिभ वार्ड स्थापनाका लागि आह्वान गरिएको ठेक्का प्रक्रियामा कुनै पनि सम्झौता वा कार्यादेश नदिइएको स्पष्ट पारेको छ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण प्रक्रिया पारदर्शी र कानुनी रूपमा अघि बढिरहेको जानकारी गराएको हो। सो टेण्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै केही संचारमाध्याममा समाचार प्रकाशित भएको थियो ।
नगरपालिकाले असोज ५ गते सूचना प्रकाशित गरी ई–बिडिङमार्फत ठेक्का आह्वान गरेको थियो। विज्ञप्तिमा ठेक्काका लागि आवश्यक लागत अनुमान र स्पेसिफिकेसन सरकारी लाइसेन्स प्राप्त बायोमेडिकल इन्जिनियरबाट तयार पारिएको जनाइएको छ । सोही आधारमा आपूर्तिकर्तासँग माग गरी ई–बोलपत्र आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।
ठेक्का प्रक्रियाका विभिन्न प्रक्रिया पुरा गर्न अझै बाँकी रहेको भन्दै समाचारमा सत्यता नरहेको पालिकाका प्रमुख दिलिप अग्रवालले जानकारी दिए । प्री–बिड बैठक बाँकी छ । जुन ठेक्का सम्बन्धी छलफलका लागि मिति कार्तिक आइतबारका लागि बैठक बोलाइएको छ । कानुनी परामर्श तथा सुझावहरूलाई नगरपालिकाले आत्मसात गर्नै बाँकी रहेको, ठक्का कात्तिक १२ मा तोकिएको पालिकाले जनाएको छ ।
‘प्री–बिड बैठक, ठेक्का खोल्ने, सम्झौता गर्ने र कार्यादेश दिने जस्ता सबै कार्यहरू बाँकी रहेकाले ठेक्काले पूर्णता पाएको छैन। सबै कानुनी प्रक्रिया पूरा गरी पारदर्शीताका साथ कार्य गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ । पालिकाले रंगेली अस्पतालको महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार निर्माणको ठेक्का प्रक्रिया पारदर्शी ढंगले अघि बढिरहेको र कुनै पनि किसिमको अपारदर्शी निर्णय नगरिने प्रमुख अग्रवालले बताए ।
