विराटनगर । नेपाली बजारमा सुनको मूल्य तोलाको अढाई लाख रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबार तोलामा २ हजार रुपेयाँ बढेर सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यो मूल्य काकठमाडौंको लागि भएकोले काठमाडौं बाहिरका बजारमा सुनको मूल्य अझै बढि हुन्छ ।
विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा ८ हजार १०० रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा ४०० रुपैयाँ बढेर २ लाख ४८ हजार नौसय रुपैयाँ थियो । यसअघि गएको सोमबार सुनको मूल्य ३ हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा २ हजार ४०० रुपैयाँ बढेको थियो ।
गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो ।
चाँदीको मूल्य भने आज घटेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेर ३ हजार २७५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य ३ हजार ३४० रुपैयाँ पुगेको थियो । डेढ सातामै सुनको मूल्य तोलामा २७ हजार रुपैयाँभन्दा धेरै बढेको छ ।
गत असोज १९ गतेदेखि १२ दिनको अवधिमा सुनको मूल्य तोलामा २७ हजार ७०० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।
दसैँअघि सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो । दशैंपछि अधिकांश दिन मूल्यमा बृद्धि भइरहेको छ ।