विराटनगर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । दुवै धातुको मूल्यले बिहीबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।
गएको पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज तोलाको १२ सय रुपैयाँ बढेर २ लाख ३९ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। काकठमाडौंको यो मूल्य देशका अन्य स्थानमा अझै बढी हुन्छ ।
सुनको यो मूल्य हालसम्मकै सबैभन्दा धेरै हो । बुधबार सुन प्रतितोला २ हजार ६ सय रुपैयाँ बढेको थियो । गएको आइतबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनिरहेको छ ।
गएको आइतबार सुनको भाउ तोलामा ७ हजार, सोमबार २ हजार ५ सय र मंगलबार २ हजार ३ सय रुपैयाँ बढेको थियो।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ६५ रुपैयाँ बढेर चाँदीको मूल्य तोलाको ३ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

