विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरुमा पठाइने बताएका छन् ।
‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले एक साललाई जे–जे भएपनि पर्याप्त पुग्ने गरि राखेका थियौं । आधा चाहिँ अस्ति २४ गतेको आन्दोलनमा क्षति भयो । अन्य दुई ठाउँमा राखेको राहत सामाग्री अहिलेका लागि पर्याप्त छ ।’
प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयमा, विराटनगर भन्सार कार्यालयमा र इनरुवामा एउटा गोदाम बनाएको थियो । आन्तरिक मामिला मन्त्रालयको गोदाममा भने गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको थियो । बाँकी दुई गोदाममा रहेको राहत सामाग्री वितरणका लागि आजैबाट सुरु गर्ने भनिएपनि हेलिकप्टर प्रभावित क्षेत्रमा जान नसकेको मन्त्री भण्डारीले बताए । ‘हामीले आजैबाट सुरु गर्न खोजेका थियौं, हेलिकप्टर जान सकेन,’ उनले भने, ‘भोलि चाहिँ मौसम खुलेको खण्डमा हेलिकप्टरले इलामका दुई–तीन ठाउँ पुर्याउँछ ।’

राहतका लागि इलामलाई पहिलो प्राथमिकता दिएको उनले बताए । ‘भोलि सकेसम्म सबै ठाउँमा राहत पुर्याउँछौं,’ भण्डारीले भने, ‘राहत वितरणका लागि प्रयोग हुने सरकारका दुईवटा पिकअप गाडी आगलागीमा परेपछि हाल भाडाको गाडी खोजेर भएपनि वितरण कार्यलाई निरन्तरता दिइनेछ ।’
उनले विपदमा घर पूर्ण रूपमा नष्ट भएका पीडितहरूका लागि प्रदेश सरकारले घर नै बनाइदिने योजना बनाएको बताए । ‘आंशिकको हकमा त हामीले हाम्रो कानुन बमोजिम राहत दिँदै आएका छौँ, फेरि पनि दिन्छौँ । त्यो भनेको बढीमा प्रति घर ५० हजार हो,’ उनले भने, ‘बुधबार बस्ने विपद व्यवस्थापन मूल समितिको बैठक र त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकबाट त्यस सम्बन्धी आवश्यक निर्णय गर्छौं ।’ घर पुनर्निर्माणसम्बन्धी अन्तिम निर्णय आगामी विपद व्यवस्थापन समिति र मन्त्रिपरिषद्को बैठकले गर्ने उनले बताए । ‘अब हामी राहत वितरण धमाधम गर्छौं, केन्द्र सरकारको मुख ताक्दैनौं,’ उनले भने ।
प्रदेश सरकारले विपद आउनुअघि वर्षभरि नै पूर्वतयारीका कामहरू गरेको पनि उनले बताए । जसमा जोखिमयुक्त क्षेत्रको डिजिटल म्यापिङ गर्नेदेखि स्थानीय तह र सुरक्षा निकायलाई आवश्यक उपकरण हस्तान्तरण गर्नेसम्मका कार्य समावेश थिए ।

मन्त्री भण्डारीले अहिले मौसममा सुधार आएको बताए । ‘आजलाई ठीक छ । पानी रोकिएको छ,’ उनले भने । भण्डारीका अनुसार इलाम बढी प्रभावित छ । मेची राजमार्ग अझै अवरुद्ध छ । खोटाङ र ओखलढुङ्गाहरुमा केही समस्या भएपनि सोलुखुम्बु, भोजपुर, तेह्रथुम र संखुवासभामा ठूलो समस्या नरहेको उनले बताए ।
मोरङ, सुनसरी, झापामा पानी पर्न छोडेसँगै डुबानको समस्या हल भएको छ । कतिपय राजमार्गहरु भत्किए पनि ठूलो क्षति छैन । कोशी राजमार्ग सञ्चालनमा आइसकेको मन्त्री भण्डारीले बताए ।
उता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सोमबार विपदपछिको अवस्था, खोज, उद्दार तथा राहत ब्यवस्थापनका विषयमा आन्तरिक मामिला मन्त्री भण्डारी, मन्त्रालयका सचिव रामप्रसाद आचार्यसँग छलफल गरेका थिए । त्यसक्रममा उनले फोन मार्फत राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, प्रदेशस्थित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजसँग पनि समन्य अगाडि बढाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।