विराटनगर । तीन दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षा र त्यसपछिको विपदका कारण ठूलो जनधनको क्षति भएको छ । असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरणअनुसार विपदमा परी ४५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । यसैगरी, ३ जना अझै बेपत्ता छन् । हजारौं परिवार विस्थापित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार मृत्यु हुने ४५ जनामध्ये ३८ जना इलाम जिल्लाका मात्रै रहेका छन् । यसैगरी, पाँचथर र उदयपुरमा २–२ जना तथा मोरङ, सुनसरी र खोटाङमा १–१ जनाको मृत्यु भएको छ ।
घाइते हुनेको संख्या ४२ पुगेको छ । जसमा इलाममा मात्रै २६ जना घाइते भएका छन् । यसबाहेक पाँचथर र भोजपुरमा ३–३ जना, सुनसरी र धनकुटामा २–२ जना, तथा ताप्लेजुङ, उदयपुर, ओखलढुङ्गा र खोटाङमा १–१ जना घाइते भएका छन् । साथै, इलाम, सुनसरी र भोजपुरबाट १–१ जना गरी कुल ३ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विपदका कारण ६ हजार चार सय ४८ घरपरिवार विस्थापित भएका छन् । जसमध्ये झापामा मात्रै ५ हजार ५ सय ३३ घरपरिवार विस्थापित भएका छन् । त्यसैगरी, सुनसरीमा ५ सय, मोरङमा ३ सय ८६, उदयपुरमा २०, धनकुटामा ६ तथा सोलुखुम्बुमा ३ घरपरिवार विस्थापित भएका छन् । विपदबाट कुल २९ हजार ३९२ जना प्रभावित भएकोमा झापामा मात्रै २५ हजार ४८१ जना प्रभावित भएका छन् ।
विपद प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । हालसम्म प्रहरीले २ हजार १ सय ५ जनाको सफल उद्धार गरेको जनाएको छ । सबैभन्दा बढी मोरङबाट १ हजार ७६४ जनाको उद्धार गरिएको छ । त्यसैगरी, झापाबाट २८१, उदयपुरबाट ५२ र इलामबाट ८ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि प्रदेशभरमा २ हजार ३३७ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
विपदका कारण विभिन्न जिल्लाका १८ स्थानमा सडक अझै अवरुद्ध छन् । जसले गर्दा उद्धार तथा राहत सामग्री ढुवानीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । भोजपुर र उदयपुरमा ४–४ स्थान, धनकुटामा ३, संखुवासभा र खोटाङमा २–२ तथा इलाम, सुनसरी र ओखलढुंगामा १–१ स्थानमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । मुख्यगरी कोशी राजमार्ग अन्तर्गात संखुवासभाको भोटखोला ४ बरुणखोला, मकालु गाउँपालिका ३ एकुवा सडक खण्ड अवरुद्ध बनेको छ । यस्तै इलाम ९ राजदुवालीमा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । यस्तै भोजपुरको टेम्के मैंयुङ गाउँपालिका १ श्रीदल स्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।