कोशी प्रदेशमा बाढी–पहिरो कहाँ कहाँ के के भयो ?

मृत्यु हुनेको संख्या ४५ पुग्यो, सप्तकोशी ‘खतराको सूचीमा’

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन् । विपद्बाट इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । इलाममा एक जना अझै वेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् । विपद्का घटनामा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको छ । विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।

इलाममा ३७ जनाको मृत्यु, मेची राजमार्ग पूर्ण रूपमा बन्द

बाढी पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । जिल्लाको सूर्याेदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको छ । देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी सन्दकपुर गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि उक्त राजमार्ग बन्द भएको हो । मेची राजमार्गका अन्य धेरै स्थानमा पनि पहिरो गएर अवरुद्ध भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । गोदक–माईखोला सडकखण्डमा धेरै स्थानमा पहिरो गएको छ । यस्तै इलाम चुरेघाँटीमा पनि पहिरो खसेर अवरुद्ध छ । इलामकै पुुवाखोलामाथि नेपालटारतर्फ पनि राजमार्गको केही भाग बगेको छ ।

इलाम–झापा जोड्ने छोटो दुुरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलाको बेलीब्रिज पनि शनिबार रातिको बाढीले बगाएको छ । माईखोलाको बेलासे पुल पनि सवारी साधन सञ्चालन हुन नसक्ने गरी क्षतिग्रस्त भएको छ । यस्तै सिमल गोलाइ तिल्केनी सडकबिचको जोगमाई खोलामा बनाइएको बेलिब्रिज पनि बाढीले बगाएको छ । बाढीका कारण देउमाई नगरपालिका र माङ्सेबुुङ गाउँपालिकाबिच पर्ने देउमाई खोलाको पक्की पुुलमा पनि क्षति पुुगेको छ । गजुरमुखी धामतर्फको पुुलको आधा भाग बाढीले बगाएको छ । यस्तै बाढीले पुुलसँगै जोडिएको गजुुरमुखी धामछेउमा छ घर बगाएको छ । यस्तै माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने पुल बाढीले बगाएको छ । इलामको सूर्योदय र माईजोगमाई जोड्ने मयूरखोलाको कल्भर्ट पनि बाढीले बगाएको छ ।

पाँचथरमा दुई जनाको मृत्यु

पाँचथरको तुम्वेवा र फाल्गुनन्द गाउँपालिकामा गरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका ३ का १७ वर्षीय मिसेक नेम्वाङ रहेका छन् ।

शेर्माको घर माथिबाट आएको पहिरोले पुरेर मृत्यु भएको हो भने नेम्वाङको निबु खोलाले बगाउँदा मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोमा परि जिल्लामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिक्लाजुङ–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द ५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे रहेका छन् ।

मोरङमा १ को मृत्यु, कहाँ कहाँ क्षति ?

अविरल वर्षाका कारण आएको भेलमा परेर विराटनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिकैको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउतको मृत्यु भएको हो ।

अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको छ । बाढी र कटानका कारण मोरङ जिल्लाका २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् । केशलीया खोलामा आएको बाढी विराटनगर–१२ बखरीस्थित सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् ।

त्यस्तै, सिंघीया खोलाको बाढी विराटनगर–२ पूर्वटोलमा पस्दा ३५ घर डुबानमा परेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर बाढीले प्रभावित भएका छन् । विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघीया खोला पसेको छ । त्यहाँका ११ घर विस्थापित बनेका छन् ।

यसैबीच, सुनबर्षी नगरपालिका–६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ भने उर्लाबारी–१ बोडरलाइनमा रतुवा खोलाले पनि साइड बाँध भत्काएर बस्तीमा बाढी पसेको प्रहरीको जानकारीमा आएको छ ।

सुनबर्षी–३ बाहुनटोलमा बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । त्यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहेरामा नुनसरी खोलाको बाँध समेत कटान भएको छ । उर्लाबारी–९, बोर्डरलाइन क्षेत्रमा रतुवा खोलाको पानी पस्दा १५–२० घरका बासिन्दा छिमेकीको घरमा आश्रय लिएका छन् । मिक्लाजुङ–६, मलामी टहरानजिक नुनसरी खोलाको बाँधसमेत कटान हुँदै गएपछि जोखिम झनै बढेको स्थानीयले बताएका छन् ।

उदयपुरमा २ जनाको मृत्यु

उदयपुरको बेलका–४ मा मदनभण्डारी राजमार्गको गाईघाट–चतरा खण्डमा खोलाको कजवे तर्ने क्रममा शनिबार राती बा ४ ख १६२८ नम्बरको यात्रुवाहक हायस बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । हायसमा २२ जना सवार थिए । त्यसमध्ये मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ३८ वर्षीय मञ्जु अधिकारीको बाढीले बगाएर मृत्यु भएको हो । अन्य २१ जनाको सकुसल उद्धार भएको छ । अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन ।

झापामा २ जनाको मृत्यु, ५ हजार बढी घर डुबानमा

झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा माइ खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन । शनिवार बाह्रदशी गाँउपालिका वडा नं. ४ मुन्सी कामत टोलका ६२ बर्षिय मंगलसिं मुर्मुको खोलाले बगाउदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ ।

यसैबीच अविरल वर्षाका कारण झापाका खोलाहरुमा आएका बाढीका कारण ५ हजारभन्दा बढी घरधुरी डुबानमा परेको र २५ हजारभन्दा बढी बिस्थापित बनेका छन् । सबैभन्दा बढी झापा गाँउपालिकामा ५ हजार ४ सयभन्दा घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै शिवसताक्षी, गौरीगन्ज, गौरादह, अर्जुनधारा र भद्रपुरमा पनि बाढीले प्रभावित गरेको छ । झापा गाँउपालिका पुरैजसो जलमग्न रहेको प्रहरीले जनाएको छ ।

खोटाङमा १ जनाको मृत्यु

उता, खोटाङमा खोलालाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको हो । उनलाई रावा बेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएको थियो । २१ वर्षीय विश्वकर्मा रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित मावली घरमा दसैँको टिका लगाएर फर्किने क्रममा खोलाले बगाएको हो ।

सुनसरीमा सयौं घर डुवानमा

सुनसरीको विभिन्न नदी र खोलामा बाढी आउँदा सयौं घर डुवानमा परेका छन् । सुनसरी खोलाको बाढीले जिल्ला सदरमुकाम इनरुवाको वडा नम्बर ३, ४, ९ बबिया र १० जल्पापुर सहित दर्जनौं बस्ति डुवानमा परेको स्थानीयले जनाएका छन् । सुनसरी खोलाको बाढीले नै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को उराव टोल, सदा टोल, मुस्लिम बस्ति, यादव टोल, ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ को बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ति र वडा नम्बर ७ को दास टोल, मण्डल र यादव टोल डुवानमा परेको छ । इनरुवा नगरपालिका १० को जल्पापुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ति डुवानमा परेको छ ।

उता गडन खोलाको बाढीले गढी गाउँ गाउँपालिका २, ५ र ६ नम्बर वडाको सतैरझोराको केही बस्ति डुवानमा परेको छ । वर्षाको पानीमा डुबेर भोक्राहा नरसिंह गाउँपालिका ७ को उपेन्द्र यादव रोहिता यादवको मृत्यु भएको स्थानीयले जानकारी दिएको भएपनि स्थानीय प्रशासनले यसको पुष्टि गरेको छैन ।

यस्तै इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया क्षेत्रमा २४ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । शनिबार राती ७ बजे अबरुद्ध भएको विद्युत अझसम्म सुचारु नभएको कारण आफूहरु मारमा परेको स्थानीयले जनाएका छन् । उता इनरुवा नगरपालिका वडा नम्बर १, २ र ३ को बजार क्षेत्रमा आइतबार दिनभरि विद्युत अवरोध भएको छ ।

सप्तकोशीको त्रास कायमै

यसैबीच सप्तकोशी नदीको बहाव आज साँझ प्रतिसेकेण्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । पानीको बहाव असामान्य रुपमा बढेकोले मध्यान्हदेखि कोशीको ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेजबाट अति आवश्यक बाहेकको सवारी साधन आगवनमा रोक लगाएको छ । पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ । कोशीमा गत वर्ष असोज १२ गते ५ लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने बताइन्छ । यद्यपि बालुवा र लेदो थुप्रिएको कारण सो अनुमान अनुसार पानीको चाप थेग्न नसक्ने विज्ञकहरु बताउँछन् । कोशीमा सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुई सय क्युसेक, सन् १९८७ मा ५ लाख १ हजार ७७१ क्युसेक र सन् १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १९३ क्युसेक पानीको बहाब मापन गरिएको थियो । सप्तकोसी नदिका सहायक नदीहरु सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तम्मर, लिखु नदीहरुको पानी सप्तकोशी नदीमा मिसिएर बग्ने गरेको छ ।

अशोज १९, २०८२, रातीको ०९:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर