विराटनगर । आज मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको भनिएपनि दशैंको टिका लगाउन साइत हेरिरहनु पर्दैन ।
दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।
कोही–कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन् । तर, दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने मान्यता छ ।
कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । यो वर्षको देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तर काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने बताइन्छ । किनभने टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन ।