लोड हुँदैछ...

मेनु

कटहरी गाउँपालिकाद्धारा मुरयाडी समुदायको संस्कृति संरक्षणका लागि बाजा वितरण

कटहरी गाउँपालिकाद्धारा मुरयाडी समुदायको संस्कृति संरक्षणका लागि बाजा वितरण

विराटनगर। मोरङको कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने अल्पसंख्यक मुरयाडी समुदायको मौलिक संस्कृति संरक्षणमा लागि परेको छ । पालिकाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत मुरयाडी समुदायलाई उनीहरूको परम्परागत सांस्कृतिक बाजा शनिबार हस्तान्तरण गरेको हो ।

कटहरी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा समुदायका अगुवाहरूलाई यी बाजाहरू प्रदान गरिएको थियो । गाउँपालिकाले कुल ७५ हजार रुपैयाँको लागतमा खरिद गरिएका बाजाहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पालिकाभित्र बसोबास गर्ने सबै जातजाति र समुदायको भाषा, धर्म, र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले मुरयाडी समुदायको पहिचानसँग जोडिएको सांस्कृतिक बाजागाजाको संरक्षणले उनीहरूको मौलिकतालाई जीवन्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष चौधरीका अनुसार, यसअघि कटहरी गाउँपालिकाको वडा नम्बर ५ मा बसोबास गर्ने मुरयाडी समुदायलाई पनि यस्तै प्रकारका सांस्कृतिक बाजाहरू वितरण गरिएको थियो । पालिकाको यो निरन्तर प्रयासले लोप हुन लागेका सांस्कृतिक परम्पराहरूलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए ।


बाजा हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष हरिनारयण राजवंशी लगायतका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । बाजा प्राप्त गरेपछि उत्साहित मुरयाडी समुदायका सदस्यहरूले आफ्नो परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेर खुसीयाली मनाएका थिए । समुदायका सदस्यहरूले स्थानीय सरकारबाट आफ्नो संस्कृति संरक्षणका लागि देखाइएको चासोप्रति आभार व्यक्त गर्दै यसले नयाँ पुस्तालाई आफ्नो परम्परासँग जोड्न उत्प्रेरणा मिल्ने बताए । कटहरी गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक संरक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।