विराटनगर । काभ्रेको पनौती नगरपालिकाभित्र निजी र सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्न रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
भदौ २४ गते पनौती नगरपालिकाका पूर्वमेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा,कांग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा आगजनी भएको थियो ।
आगजनीका घटनामा संलग्नमध्ये रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाको संलग्नताका प्रमाण बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका हुन् । पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै रास्वपा नगर सभापति भट्टराई र तिमल्सिनाले सम्हालेका थिए ।
भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गत कुप्स विद्यालयका स्थायी शिक्षक हुन् । विद्यालयले भट्टराई स्थायी शिक्षकका रूपमा कार्यरत रहेको जनाएको छ । पनौती २ कुशादेवीका तिमल्सिनाले आन्दोलनका क्रममा आफूहरूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।
आफूहरू त्यसरी देखिनेगरी आन्दोलनमा उपस्थित भएका कारण सबै दोष लगाउन खोजिएको भन्दै सभापतिले नै राजीनामा दिएपछि आफू पनि पार्टीबाट अलग भएको बताएका छन् । उनले अब आफ्नो ७ पुस्ताले राजनीति नगर्ने भन्दै सोही घटनापछि आफूलाई खोजी गर्नेहरूबाट ज्यान असुरक्षा भएको पनि बताएका छन् ।
नेपाल प्रेसबाट