लुटिएको ३१ थान हतियार र ३३ लाख ७० हजार नगद सेनाद्धारा बरामद, २७ जना पक्राउ

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा अराजक भीडले लुटेका ३१ थान हतियार र त्यसमा प्रयोग हुने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ । सेनाले जारी गरेको अद्यावधिक विवरणअनुसार प्रदर्शनका क्रममा आक्रमणबाट घाइते भएका २३ जना नेपाल प्रहरी र तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ ।

‘जेन–जी आन्दोलन’ को आवरणमा घुसपैठ गरेका अराजक समूहले आगजनी गरेका सार्वजनिक तथा निजी संरचनाहरूमा लागेको आगो निभाउन तीनवटा बारुण यन्त्र (दमकल) को प्रयोग गरिएको सेनाले जनाएको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, काठमाडौँको गौशाला चाबहिल बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको पनि सेनाले जानकारी दिएको छ ।

भदौ २५, २०८२, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर