विराटनगर । डा.बालकृष्ण साहद्वारा लिखित गैर–आख्यान विधाको नवीनतम कृति ‘गर्भको गर्व’ माथि विराटनगरमा एक बृहत् संवाद कार्यक्रम आयोजना हुने भएको छ । पूर्वेली जनसंचार प्रकाशन प्रालिद्वारा प्रकाशित ‘हाम्रोमत दैनिक’ को विशेष आयोजनामा यो कार्यक्रम यही शनिबार विराटनगरस्थित इलिट क्लबमा हुँदैछ ।

डा. साहको यो गैर–आख्यान विधाको पहिलो पुस्तक हो । जसले नेपाली साहित्यमा एउटा नयाँ आयाम थपेको विश्वास गरिएको छ । पुस्तकले गर्भधारण, मातृत्व र सन्तानप्रतिको मानवीय संवेदनालाई गहिरो गरी केलाएको छ । यसले नेपाली समाजमा गर्भ र मातृत्वसँग जोडिएका विभिन्न सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्षहरूमाथि गहन विमर्श आरम्भ गर्ने अपेक्षा गरिएको छ ।
संवाद कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा. डा. बिजुकुमार थपलिया प्रमुख अतिथिका रूपमा सो कार्यक्रम हुन लागेको हो ।
‘गर्भको गर्व’ पुस्तकले नेपाली पाठकहरूमाझ मातृत्वको महिमा, गर्भको संवेदनशीलता र सन्तानप्रतिको अपार स्नेहलाई नवीन दृष्टिले हेर्ने अवसर प्रदान गर्नेछ । यसले केवल साहित्यिक वृत्तमा मात्र नभई सामाजिक विमर्शमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ । संवाद कार्यक्रममा पुस्तकका विषयवस्तु, लेखनशैली र यसका अन्तर्निहित सन्देशहरूमाथि विस्तृत चर्चा गरिनेछ । लेखक डा. बालकृष्ण साहले पनि आफ्ना अनुभव र लेखन प्रक्रियाबारे सहभागीहरूसँग अन्तक्र्रिया गर्नेछन् ।