विराटनगर । आज देशका धेरै ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामका मौसमविद् डेविड ढकालका अनुसार आज बेलुकासम्म धेरै ठाउँमा निरन्तर वर्षा हुने छ । बेलुकाबाट अलि कम भए पनि भोलि र पर्सि पनि पानी पर्ने क्रम जारी रहने उनले बताए ।

आज दिनभर र बेलुकासम्म यस्तै रहने उनले बताए । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

राति देशभरका पहाडी भू–भागका धेरै स्थान र बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा पानीको सतह बढ्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको विभागले बताएको छ ।