विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ ।

महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण गरिएको यो भवनको उद्घाटन मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरे ।

यो नयाँ विस्तारसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू थप गरेको छ । यसले कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ । अस्पतालले स्त्री रोग तथा प्रसूति विभागलाई थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा ५ वटा नयाँ र अत्याधुनिक अप्रेशन थिएटर सञ्चालनमा ल्याएको हो । यो सँगै अस्पतालको कुल अप्रेशन थिएटरको संख्या २४ पुगेको छ, जसमध्ये १९ वटा पहिलेदेखि नै विभिन्न शल्यक्रियाका लागि सञ्चालनमा थिए ।

स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले समर्पित भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीहरूलाई चौबीसै घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ ।

नवनिर्मित गाइनो वार्डको उद्घाटन गर्दै प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए । ‘विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ । आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

कार्यक्रमको अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा अध्ययनरत विद्यार्थीहरूका लागि प्रा.डा. वाग्लेसँग एक अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।

सोही कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । उनले यसलाई ’१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिँदै भने, ‘निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ । राज्यले १० वर्षअघि नै गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य पक्ष हो ।’ उनले यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने धारणा राखे ।

यसका साथै, अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधासम्पन्न ‘विराट खाजा घर’ पनि सञ्चालनमा ल्याएको छ । अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गर्नेछ ।