काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् ।सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकामा मंगलबार दिउँसो एक बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।सो समयमा उनको मात्रै उमेदवारी परेको थियो ।
उक्त समयमा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गरेकी सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
न्यौपानेको उम्मेदवारीमा प्रस्तावक बनेका खतिवडा यो भन्दा अघि समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि खतिवडाले सभापति पदबाट गत साउन २८ गते राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेपछि न्यौपानेले संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी थिइन् ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।
न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी थिइन् । न्यौपाने सभापति भएको घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिमा घोषणा हुनेछ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले न्यौपानेको मात्रै उम्मेदवारी परेको बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।