विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयक विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नेपाल पत्रकार महासंघ, कोशी प्रदेशले आपत्ति जनाएको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी भएको अमानवीय दुर्व्यवहारको घोर भर्त्सना गरेको हो ।
महासचिव हिमाकुमारी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ ६ गते प्रदेशसभा अगाडि आयोजित धर्नामा प्रहरी प्रशासनले गरेको हस्तक्षेपप्रति खेद व्यक्त गर्दै आन्दोलनमा दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई तत्काल कारबाही गर्न जोडदार माग गरिएको छ ।
महासंघले सरोकारवालाका सुझावलाई पूर्णतः बेवास्ता गर्दै विधायन समितिले उल्टै पत्रकारलाई एक लाखसम्म जरिवाना गर्ने, कालोसूचीमा राख्ने र सरकारी विज्ञापन रोक्ने जस्ता कठोर प्रावधान राखेकोमा आक्रोश व्यक्त गरेको छ । ‘सरकारले नियुक्त गरेको प्रेस रजिस्ट्रारलाई अदालती अधिकार दिएर स्वतन्त्रपूर्वक कलम चलाउने पत्रकारलाई राजनीतिक नियुक्ति पाएका व्यक्तिमार्फत दण्डित गर्ने ऐन हाम्रा लागि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको मर्मविपरीत आएको विधेयकलाई तत्काल समितिमा फिर्ता पठाई संशोधन गरेर मात्र पारित गर्न महासंघले प्रदेश सरकार, प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । माग पूरा नभए थप कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।


