विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य केदार कार्कीले सरकारको आलोचना गर्छ भनेर आफ्नो मुख बन्द गराउने प्रयास भइरहेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार आलोचना सुन्नै नचाहने र आलोचकको आवाज दबाउन सभामुखलाई समेत दबाब दिने गरेको दाबी गरेका हुन् ।
‘सरकारको आलोचना गर्छ कि भनेर बोल्न दिनुहुन्न भन्ने डेलिगेसन सभामुखकहाँ जान्छ,’ कार्कीले आक्रोशित हुँदै भने, ‘यो किन धेरै बोल्न दिएको भनेर सभामुखलाई प्रश्न गरिन्छ ? किनभने यसले आलोचना ग¥यो भनेर । यो त ज्ञानेन्द्रको शासनमा हुन्थ्यो सभामुख महोदय । योभन्दा लाजमर्दो विषय के हुन सक्छ ?’

कार्कीले सरकार, प्रदेशसभाको भूमिका र प्रदेशको भविष्यमाथि नै केन्द्रित रहेर आफ्ना धारणा राखेका थिए । उनले लोकतन्त्रमा आलोचना सरकारको लागि ‘पेट्रोल’ सरह भएको बताउँदै त्यसबाट भाग्ने प्रवृत्तिले व्यवस्थालाई नै कमजोर बनाउने चेतावनी दिए । विपी कोइराला प्रधानमन्त्री हुँदा पत्रकारलाई बोलाएर ‘मेरो आलोचना मात्रै गर’ भन्दै तलब दिने प्रस्ताव गरेको स्मरण गर्दै उनले भने, ‘त्यो पार्टीको पथप्रदर्शक र विचारको फलोअर हुँ म । सरकार कसको हो भनेर हेरिँदैन । राम्रो कामलाई मौन समर्थन र नराम्रो कामलाई जुम्रा केलाएजस्तो केलाएर देखाइदिने हाम्रो धर्म हो ।’

कार्कीले प्रदेशका अधिकार कटौती हुँदा पनि प्रदेश सरकार मौन बसेकोमा कडा आपत्ति जनाए । संविधानले दिएको शान्ति सुरक्षाको अधिकार समेत प्रदेशले नपाएको भन्दै उनले वर्तमान सरकारलाई चुनौती दिए । ‘तपाईंहरूले सक्नुहुन्न, तपाईंहरूलाई डर लाग्छ भने संसदमा प्रस्ताव पेस गर्नुहोस्,’ उनले भने, ‘हामी संसद एक भएर संघीय सरकारको ध्यानाकर्षण गराउने गरी एकमत बनाएर पठाऔं । हामीलाई डडेलधुरा र रारा ताल पठाउने भन्दा सिंहदरबार घेर्न लैजानुस् ।’

उनले जनताले रगतसँग साटेको अधिकार माग्न प्रदेश सरकार डराएको आरोप लगाउँदै प्रदेशसभालाई भत्ता र तलब बुझ्ने थलो मात्र नबनाउन आग्रह गरे । ‘प्रदेशसभामा उपस्थित हुने, हाजिर गर्ने अनि भत्ता र तलब लिने मात्रै हाम्रो काम होइन,’ उनले भने, ‘संविधानले दिएको अधिकार कार्यान्वयन गराउने हाम्रो जिम्मेवारी हो ।’

उनले कोशी प्रदेश लागुऔषध सप्लायरहरूको ‘हब’ बन्दै गएको दाबी गरे । उनले झापामा हालै एक राजनीतिक दलका नेता नै लागुऔषधसहित पक्राउ परेको घटना उल्लेख गर्दै यो समस्या सरकारी विद्यालयसम्म पुगिसकेको बताए ।

‘सुनकै पलङ र हेलिप्याडसहितको घर बनाए पनि छोराछोरी ड्रगिस्ट भए भने त्यो पलङमा निद्रा लाग्छ ?,’ उनले प्रश्न गरे । झापाको नाकाबाट आएको ओरिजिनल लागुऔषध काठमाडौंमा महँगोमा बिक्ने गरेको र उदयपुरको कटारी सप्लायरहरूको नयाँ स्टेसन बन्न थालेको उनले खुलासा गरे ।

आफू मुख्यमन्त्री हुँदा लागुऔषध नियन्त्रणका लागि छुट्याएको बजेट वर्तमान सरकारले कार्यकर्तालाई बाँडेको गम्भीर आरोप लगाउँदै कार्कीले भने, ‘हामीले लागू औषध प्रयोगकर्तालाई बोर्डरमा जान नदिने, सप्लायरलाई पक्राउ गर्ने र पुनस्र्थापना केन्द्रलाई व्यवस्थित गर्ने योजना बनाएका थियौं । तर त्यो पैसा छानेर कार्यकर्तालाई बाँडियो । आज त्यसको भयावह रूप देखिँदैछ, मोरङमै दुई पटक गोली चलिसक्यो ।’

उनले सभामुखलाई समेत नडराउन र सभाको मर्यादा कायम राख्न आग्रह गर्दै आफूहरूलाई हजार रुपैयाँ भत्ताका लागि उपस्थित गराएर थप्पडी बजाउन मात्र बोलाएको जस्तो नगर्न सरकारलाई सचेत गराए । उनले झापाको अन्तराष्ट्रिय औद्योगिक पार्कमा लगाएको मकै हराएको, छात्रवृत्तीमा पढेका डाक्टरलाई यातायात कार्यालय पठाएको भन्दै सरकारको आलोचना गरे ।