विराटनगर । विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा अवाञ्छित गतिविधिमा संलग्न समूह सक्रिय हुने भएकोले श्रद्धालुहरूलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले प्रहरीले सुरक्षाको व्यवस्थापन गरेको बताउँदै सचेत हुन सहभागीलाई पनि आग्रह गरेका छन् ।

रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित गरी केही व्यक्तिहरूले मोबाइल, सुन–चाँदीका गरगहना तथा अन्य अमूल्य सामान चोरी गर्ने, कानुन विपरितका गतिविधि गर्ने घटनाहरू हरेक वर्ष हुने गरेको छ । प्रहरीले श्रद्धालुहरूलाई मोबाइल, सुन–चाँदीका गरगहना जस्ता अमूल्य वस्तु नलगाउन साथै आफूलाई आवश्यक मात्र नगद बोक्न अनुरोध गरेको छ ।

कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई देखेमा तत्काल प्रहरीलाई जानकारी गराई सहयोग गर्न आग्रह गरिएको छ । रथयात्रालाई पूर्ण रुपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको जनाएको छ ।

आपराधिक तथा उश्रृंखल गतिविधिलाई निस्तेज पार्न मोरङ प्रहरीले ड्रोन र सिसिटिभी निगरानीदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेर कडा सुरक्षा रणनीति बनाएको जनाएको छ । रथयात्राको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘रथयात्राको गरिमा र शान्तिलाई भंग गर्ने कुनै पनि प्रयासलाई सफल हुन दिनेछैनौं,’ एसपी चिमरियाले भने, ‘‘हाम्रो सम्पूर्ण ध्यान भक्तजनले निर्धक्क र भक्तिभावपूर्ण वातावरणमा रथयात्रामा सहभागी हुन सकून् भन्नेमा केन्द्रित छ ।’ प्रहरीले ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मीलाई भीडभित्र परिचालन गर्ने रणनीति बनाएको छ । उनीहरु भक्तजनकै रूपमा भीडमा घुलमिल हुनेछन् । पाकेटमार, लुटेरा, महिला तथा बालबालिकालाई दुव्र्यवहार गर्ने वा अन्य कुनै पनि उश्रृंखल गतिविधि गर्ने व्यक्तिहरूमाथि उनीहरुले कडा निगरानी राख्नेछन् ।

कुनै पनि व्यक्ति शंकास्पद गतिविधिमा संलग्न भएको वा गलत हर्कत गरेको पाइएमा सादा पोशाकको टोलीले तत्कालै पक्राउ गर्नेछ । पक्राउ परेका व्यक्तिहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकाल्न र जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन रथयात्राको रुटमा अगाडि र पछाडि विभिन्न स्थानमा ‘वान टन’ गाडीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

लाखौंको भीडमा गर्मी र अन्य कारणले भक्तजनलाई स्वास्थ्य समस्या पर्न सक्ने कुरालाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पताल र विराटनगरका प्रतिष्ठित निजी अस्पतालहरूसँगको सहकार्यमा रथयात्रा मार्गका विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोलीले कुनै पनि आकस्मिक स्वास्थ्य समस्याको तत्काल प्राथमिक उपचार गर्नेछ ।