विराटनगरमा आज भब्य राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । विराटनगरमा आज अपरान्ह राधाकृष्ण रथयात्रा निकालिदैछ । दिउँसो ३ बजे विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै नगरको ९ किलोमिटर यात्रा तय गरेर मन्दिरमै पुगेर समापन हुनेछ ।

रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । रथयात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् ।

रथयात्राको दिन कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिएको छ । रथयात्रालाई पूर्ण रुपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ ।

रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा गरिएकोक थियो । यो रथयात्रा एसियामै भारतको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ । १९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो ।

भदौ १, २०८२, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर