विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएपछि घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
मंगलबार राति करिब २ बजे जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका कैदी कारागारबाट भागेका थिए । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री कारागारको ‘बी’ब्लकबाट फरार भएका हुन् । उनी मुढा बनाउन प्रयोग हुने बाँसको सहायताले पर्खाल नाघेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले छानबिन समितिले आफ्नो काम सुरु गरिसकेको र फरार कैदीको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।

