विराटनगर । सामुदायिक वन दिवस २०८२ को अवसरमा वन तथा भू संरक्षण विभाग काठमाडौंले डिभिजन वन कार्यालय मोरङ अन्तरगतका विभिन्न वन समूह र वन संरक्षणकर्मीहरुले पाँच ओटा राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । मोरङको केराबारीस्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहले गणेशमान सिं राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । वन तथा भू–संरक्षण मन्त्री अइनबहादुर शाहीकोले देवीझोडा सामुदायिक वन उपभोक्ता समूहलाई १ लाख रुपैयाँ राशिको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यसैगरी बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूह बेलबारी ३ ले द्वितीय पुरस्कारस्वरुप ५० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । निजीवन धनी मोरङ ग्रामथान ४ कि पुनमकुमारी भगतले द्वितीय पुरस्कार प्राप्त गरेकी छन् । उनलाई पनि ५० हजार रुपैया राशिको पुरस्कार र प्रमाण पत्र प्रमुख अतिथिले प्रदान गरेका थिए ।
मोरङकै जमदार गणेशबहादुर कार्कीले गणेशबहादुर शाही प्रथम राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनले ७५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा डिभिजन वन कार्यालय मोरङ पनि सम्मानित भएको थियो । कार्यालयलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । मोरङका जिल्ला वन अधिकृत उत्सव थापाले पुरस्कृत सबैलाई बधाई ज्ञापन गरेका थिए ।

