विराटनगर । विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्मित प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको अत्याधुनिक भवन मंगलबार एक कार्यक्रमका बीच कोशी प्रदेश स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा भौतिक पुर्वधार मन्त्री भूपेन्द्र राईले नवनिर्मित भवनको उद्घाटन गरेको हुन् ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय परिसरमा निर्माण गरिएको यो भवनले प्राकृतिक विपद तथा महामारीको समयमा प्रदेशवासीलाई छिटोछरितो र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यसअघि कोशी अस्पताल परिसरबाट सञ्चालन हुँदै आएको केन्द्र अब नयाँ र सुविधासम्पन्न भवनमा सरेको हो ।

विश्व स्वास्थ्य संगठनले करिब ९९ लाख ७५ हजार ६७ रुपैयाँको लागतमा यो भवन निर्माण सम्पन्न गरेको हो । भवनसँगै आवश्यक फर्निचर, वैकल्पिक ऊर्जाका लागि सोलार, ब्याट्रीलगायतका सामग्रीसमेत हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो भवन भूकम्प प्रतिरोधी र अग्निरोधी प्रविधिबाट निर्माण गरिएको छ, जसले गर्दा आपतकालीन अवस्थामा पनि सुरक्षित रूपमा कार्य सञ्चालन गर्न सकिनेछ ।

स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री राईले विश्व स्वास्थ्य संगठनको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा केन्द्रको दिगो सञ्चालनका लागि प्रदेश सरकार अहिलेदेखि नै तयार रहनुपर्ने बताए । उनले भने ‘विश्व स्वास्थ्य संगठनले सहयोग गर्न बन्द गरिदिएको दिन के गर्ने भन्ने प्रश्नको उत्तर हामीले आजैदेखि खोज्नुपर्छ र यसको सफल सञ्चालन सुनिश्चित गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश समबाजीराव पाण्डवले यो भवनले आपतविपदको बेला प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य आपतकालिन अवस्थामा सूचना संकलन, विश्लेषण र प्रतिकार्यका लागि यो केन्द्र एक महत्वपूर्ण एकाइ हुने बताए ।