विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा उनी तानिएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

‘कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएको थिएँ । हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु’ खतिवडाले सम्बोधनका क्रममा भनेका छन् । ।

‘स्थायी सरकार हामी हौं,अरु अस्थायी हुन्’ भन्ने मानसिकता कर्मचारीमा देखिएको उनले बताए ।

‘त्रुटी हुन गएको साँचो हो । विधेयक लेखनमा त्रुटी भएको हो । तर, मबाट भएको होइन । मबाट यस्तो त्रुटी भएको होइन भन्ने विश्वास गराउन चाहन्छु’, उनले भने, ‘आशंकापूर्वक अध्ययन नगर्नु मेरो मात्रै कमजोरी हो कि संसद्को पनि हो ? हामी सांसद पनि अध्ययन गर्दैनौं भन्ने देखिएको छ ।’

‘रामहरि दोषी हो भनेर प्रतिवेदनमा किटान गरिएको छैन । नखाएको विष लाग्दैन । न राजीनामा दिनुपर्छ भनेर उल्लेख गरिएको छ’, उनले भने, ‘जिम्मेवार शब्द प्रयोग गरिएकोले हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु ।’