विराटनगर । आफ्नै हाकिमसँग यौन सम्बन्ध राख्न एक बालिकालाई फकाउने कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । कार्यालय प्रमुख भने फरार छन् ।
विभिन्न प्रलोभन देखाएर बालिकालाई यौन प्रस्ताव गरेको आरोपमा जिल्ला खेलकुद विकास समिति, ओखलढुंगाकी कार्यालय सहयोगी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पक्राउ पर्नेमा कार्यालय सहयोगी प्रमिला विश्वकर्मा रहेकी छिन् । घटनामा संलग्न रहेको आरोप लागेका कार्यालय प्रमुख फरार रहेको उनले पुष्टि गरे ।
बालिकाले दिएको जाहेरीका आधारमा कार्यालय सहयोगीलाई साउन २१ गते पक्राउ गरिएको हो । प्रहरीले उनीविरुद्ध बालबालिकासम्बन्धी ऐनअन्तर्गत बालयौन दुराचारको कसुरमा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान अगाडि बढाएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी विश्वकर्माले कार्यालय प्रमुख बालकुमार खनालका लागि बालिका फकाइदिएको बयान दिएकी छिन् । सोही बयानका आधारमा प्रहरीले खनालविरुद्ध साउन २५ गते पक्राउ पुर्जी जारी गरेको हो ।
कार्यालय सहयोगी पक्राउ पर्दासम्म खनाल प्रहरीको सम्पर्कमै थिए । तर, कार्यालय सहयोगी पक्राउ परेलगत्तै फरार भएको प्रहरी स्रोतले बताएको छ ।कार्यालय सहयोगी पक्राउ परेको केहि बेरसम्म भने उनी प्रहरीको सम्पर्कमा रहेका थिए ।
प्रमिलाले पीडित बालिकासँग गरेको कुराकानीको २५ मिनेट लामो अडियो रेकर्ड पनि प्रहरीले फेला पारेको छ । पटक–पटकको दबाब र प्रलोभनपछि बालिकाले एक साथीको मोबाइल प्रयोग गरेर कुराकानी रेकर्ड गरेकी थिइन् ।
‘शुरूमा बालिकाले आफ्ना साथीहरूलाई भनेकी थिइन, साथीहरूले नै मोबाइल दिएर अडियो रेकर्ड गर्न सल्लाह दिएका रहेछन्,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘अडियोमा कार्यालय सहयोगीले ‘अहिले कोही पनि चोखो छैन । हाकिमले तिमीलाई हेरिहाल्छन् नि मोबाइल किनिदिनुहुन्छ, अन्य सामग्री पनि किनिदिनुहुन्छ । एकछिन सुत्दैमा के बिग्रिन्छ’ जस्ता कुरा गरेको सुनिन्छ ।’
अडियो रेकर्डमा प्रमिलाले कार्यालय प्रमुख खनालले ती बालिकालाई मन पराएको र उनीसँग शारीरिक सम्बन्ध राख्न चाहेको कुरा उल्लेख गरेकी छिन् । उनले अडियोमा भनेकी छिन्, ‘सरले तिमीलाई मन पराउनुहुन्छ । तिमीसँग बस्न चाहनुहुन्छ । खर्च पनि दिन्छु भन्नुभएको छ । मेरो मोबाइलमा तिम्रो फोटो देखेर मन पराउनुभएको हो ।’
जब बालिकाले ‘कस्तो सम्बन्ध ? भनेर सोध्छिन्, प्रमिलाले जवाफमा भन्छिन्,‘ठूला मान्छेहरूसँग संगत गर्नुपर्छ, भोलि बच्चा बसिहाल्यो भने पनि औषधि हुन्छ । अहिले सम्बन्ध नराख्ने कोही हुँदैन, कोही चोखो हुँदैन । तिमीलाई मनले खाएको मान्छे भनेर भनिदिएको हो ।’
उनले बालिकाको बिग्रिएको मोबाइल बनाइदिने र नबनेमा नयाँ किनिदिने जस्ता प्रलोभन समेत देखाएको अडियोमा सुनिन्छ । प्रहरी सोधपुछका क्रममा प्रमिलाले अडियोमा भएको आवाज आफ्नै भएको स्वीकार गरिसकेकी छिन् ।
पीडित बालिका स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । फरार रहेका कार्यालय प्रमुख खनालको खोजी भैरहेको प्रहरीले जनाएको छ । ‘विराटनगर, ओखलढुङ्गा काठमाडौलगायत स्थानमा खनालको घर रहेको बुझेका छौ’, प्रहरी स्रोतले भन्यो ‘तीनै ठाउँमा उच्च निगरानी राखेका छौं ।’

