विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवामा विगत पाँच दिनदेखि हराइरहेका दाजु–बहिनी मृत अवस्थामा फेला परेका छन् ।

१० वर्षीय शिशिर राई र उनकी ४ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोला किनारमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रबार विद्यालय जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले दुवै जनाको शव विरुवा खोलामा फेला परेको जानकारी दिए । प्रहरी निरीक्षक तामाङले घटनाको अनुसन्धान शुरू गरिएको र थप विवरण आउन बाँकी रहेको बताए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाउने तयारी गरिरहेको छ ।