विराटनगर । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा ८९.०३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाई करिब ६ प्रतिशतले कम छ ।

गत वर्ष यसै अवधिमा ९५.०१ प्रतिशत धान रोपाई सम्पन्न भएको थियो । प्रदेशको कुल धान खेती हुने २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाई सकिएको छ ।

झापा, मोरङ र सुनसरी जिल्ला समावेश तराई क्षेत्रमा औसत ९१.७६ प्रतिशत रोपाई भएको छ । त्यसैगरी, मध्य पहाडी जिल्लाहरूमा ८४.२२ प्रतिशत र उच्च पहाडी जिल्लाहरूमा ७५.९४ प्रतिशत रोपाई भएको मन्त्रालयले जनाएको छ ।
जिल्लागत तथ्याङ्क हेर्दा ओखलढुङ्गा जिल्लामा शतप्रतिशत धान रोपाई सम्पन्न भएको छ । यस्तै सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत धान रोपाई भएको छ ।

सबैभन्दा कम रोपाई भने तेह्रथुम जिल्लामा भएको छ । सो जिल्लामा ६६ प्रतिशत मात्र रोपाई सकिएको छ । त्यसैगरी ताप्लेजुङमा ७३.२९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाई भएको छ ।