विराटनगर । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान तथा समाधानका विकल्पहरुको खोजी गर्ने क्षमता विकास गर्ने उद्देश्यले विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा आयोजना गर्ने भएको छ ।विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते विद्यालयमा ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ गर्ने कलेजले जानकारी दियो ।

यो कार्यक्रमबाट विद्यार्थीहरुको नेतृत्व, व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कूटनीति र सम्बन्ध बुझ्ने सामथ्र्य बढाई, समालोचनात्मक चेतको विकास भई आत्मविश्वास अभिवृद्धि हुने विश्वास कलेजले लिएको छ ।कार्यक्रमको उद्घाटन साउन २१ गते बिहान कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईले गर्ने कार्यक्रम संयोजक इशल भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म चल्ने यस नमूना सभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिनेछन् । उनीहरूलाई विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस छन् ।

ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्त्वका विषयमा छलफल हुनेछ ।नेपाल र भारतका मोडरेटरहरूले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् ।संयोजक भट्टराईले विद्यालयले दिएको शिक्षा र आत्मविश्वासको जगमा उभिएर पहिलो पटक यस्तो अभ्यास गर्न लागेकोमा विद्यार्थीहरू निकै उत्साहित रहेको बताए ।
कार्यक्रमको संरक्षकमा विद्यालयका प्राचार्य टीकाराम पुरी छन् भने ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गर्नेछ । छलफल पछि ‘एभरेष्ट घोषणापत्र’ जारी गर्दै कार्यक्रम समापन हुनेछ ।