लोड हुँदैछ...

मेनु

झापाका दुई जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि

झापाका दुई जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि

विर्तामोड । झापाको मेचीनगरमा दुई सातामा दुई जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । मेचीनगर ३ र ५ का ३६ र ५५ वर्षीया महिलामा १३ दिनको फरकमा रोेग देखिएको हो ।

जापानिज इन्सेफलाइटिस पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य सेवा विभाग मातहतको परिवार कल्याण महाशाखाको टोली मेचीनगर आइपुगेको छ ।

विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा.सोनिया भगत र परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तर कोइरालालगायत मेचीनगर आइपुगेका हुन् । उनीहरूले संक्रमण देखिएको स्थानमै पुगेर स्थानीयसँग छलफलसमेत गरेका छन् ।

नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार रोग देखिएको स्थान वडागत रूपमा फरक भएपनि छिमेकी गाउँ हुन् । मेचीनगर ३ की ३६ वर्षीया महिला उपचारपछि घर फर्किए पनि मेचीनगर ५ की ५५ वर्षीया महिला भने बेहोस अवस्थामा उपचाररत रहेको बताइएको छ । उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत उनको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताएकी छन् । यस्तै, मेचीनगर ३ की महिला उपचार फर्किए पनि बोलीमा टुंगो नभएको बताइन्छ ।

एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरू शुरुमा स्थानीय निजी क्लिनिकमा गएका थिए । पछि नमुना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो । जुन परीक्षणमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको हो ।

अहिले स्थलगतरूपमै पुगेर निगरानी गर्ने, सचेतनाका विभिन्न कार्यक्रम गर्ने, स्थानीयसँग छलफल गर्ने जस्ता कार्य गरिरहेको नगरपालिकाले जनाएको छ । लमखुट्टेको टोकाइबाट सरी मस्तिष्कमा संक्रमण हुने यो गम्भीर प्रकृतिको रोग हो । यो जुनसुकै उमेरका मानिसलाई लाग्ने भएपनि विशेषगरी १५ वर्ष मुनिका बालबालिकालाई देखिने बताइन्छ । पछिल्लो समय भने बालबालिकाभन्दा पाको उमेर समूहका मानिसलाई पनि रोग देखिने क्रम बढेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाटी अह्ररो (कडा) हुने, काँप्ने जस्ता यस रोगका लक्षणहरू हुन् । यस रोगको परीक्षण त्यति सहज पनि छैन । ढाडको पानी निकालेर यो रोग भए÷नभएको परीक्षण गरिन्छ ।

विश्व स्वास्थ्य संगठनकी प्रतिनिधिका अनुसार सन् २०२५ मा देशभर ९ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । कोशी प्रदेशको झापा र मोरङमा २–२ जना, मधेशमा ४ जना र बागमती प्रदेशको चितवनमा १ जना गरी ९ जनामा यो रोग देखिएको हो । स्वास्थ्य अधिकारीका अनुसार मोरङमा यस रोगकै कारण एक जनाको मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।