विराटनगर । गत आर्थिक वर्ष २०८१–८२ मा मोरङमा २ हजार ६०६ वटा आपराधिक मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
अघिल्लो वर्षभन्दा २०२ थान धेरै मुद्दा गत वर्ष दर्ता भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन् । दर्ता भएका मुद्दामध्ये १ हजार ९२० फछ्र्यौट भएको छ भने ६८६ मुद्दा अनुसन्धानको प्रक्रियामा छन् ।

प्रहरीका अनुसार गत आर्थिक वर्षमा कर्तव्य ज्यानसम्बन्धी १३ वटा र ज्यान मार्ने उद्योगसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् । यस्ता मुद्दाहरू प्रायः घरेलु हिंसा, व्यक्तिगत रिसईबी वा आर्थिक लेनदेनको कारण हुने गरेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष कर्तव्य ज्यानका २० र ज्यान मार्ने उद्योगका ३५ मुद्दा दर्ता भएका थिए ।

२०८१–०८२ मा जबरजस्ती करणी सम्बन्धी ९६ र जबरजस्ती करणी उद्योगसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यस्तै मुद्दा क्रमशः ९९ र २२ थिए ।
२०८१–०८२ मा चोरीसम्बन्धी मुद्दा १८९ दर्ता भएका छन् । जुन अघिल्लो वर्ष २३८ वटा थियो । डाँका सम्बन्धी अघिल्लो वर्ष ४ मुद्दा दर्ता भएकोमा गत वर्ष एउटा मात्र दर्ता भएको छ । यस्तै, ठगीका ६३ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्ष ४९ मुद्दा थिए ।

बैंकिङ कसुरसम्बन्धी मुद्दा २०८१–०८२ मा ४४९ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्दा २६० वटा मात्रै दर्ता भएको थियो । चेक बाउन्स, ऋण नतिर्ने, किर्ते खाताबाट रकम स्थानान्तरणजस्ता अपराधहरू बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोरङमा २०८१–०८२ मा लागुऔषध सम्बन्धी ४१८ वटा मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो वर्षको ३५४ को तुलनामा वृद्धि भएको छ । यो अबधिमा लागुऔषधसहित ६११ जना पक्राउ परेका छन् ।

प्रहरीले यो अवधिमा १ किलो ७ सय ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन), ६ हजार ६ सय ५० किलो गाँजा तथा मनोदीपक पदार्थ २ हजार ९ सय ४ थान एम्पुल, ७० हजार ७ सय ४१ ट्याब्लेट र ४२ बोतल लागुऔषध बरामद गरेको जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अपराधको सफल अनुसन्धान र मुद्दा फछ्र्यौट गर्दै प्रहरी सकारात्मक नतिजा निकाल्न सफल भइरहेको छ । अपराध नियन्त्रणका लागि विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन, महिला तथा बालबालिकालाई लक्षित हिंसाविरुद्ध प्रहरी पहुँच विस्तार गर्नुका साथै लागुऔषध नियन्त्रणका लागि विशेष गस्ती तथा सूचना संकलनको प्रणाली थप सशक्त बनाइएको उनले बताए ।