विराटनगर । कानुन शिक्षामा व्यवहारिक ज्ञानको अभावलाई सम्बोधन गर्ने उद्देश्यले विराटनगरस्थित ब्राइट भिजन ल कलेजले कोशी प्रदेशमै पहिलो पटक नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता आयोजना गरेको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कक्षा ११, १२ र स्नातक तहका ७२ जना विद्यार्थीलाई १८ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको हो ।

प्रतियोगिताको समापन सोमबार सम्पन्न भयो । फाइनल राउण्डमा लोकेश धाडेवा, प्रतीक गौतम, आकृति खनाल र मनिष सिग्देलको समूह विजेता बन्न सफल भयो । दोस्रो स्थानमा रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवालको समूह रहँदा, अविशा निरौला, आयुशा राई, प्रश्रित ढकाल र प्रविण सापकोटाको समूह तेस्रो स्थानमा पुगे ।
प्रतियोगिताको निर्णायक मण्डलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शन्तिराम भण्डारी रहेका थिए । फाइनल राउण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए । उनले नमूना अदालत भए तापनि वास्तविक इजलासजस्तै अनुभूति भएको प्रतिक्रिया दिए । ‘विद्यार्थीको तर्क, प्रस्तुति र अनुसन्धान क्षमताले म प्रभावित भएँ, यिनीहरू भविष्यका उत्कृष्ट अधिवक्ता बन्ने स्पष्ट संकेत देखिन्छ,” उनले भने ।
ब्राइट भिजन ल कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यका अनुसार कानुनका विद्यार्थीहरूलाई शैद्धान्तिक ज्ञानमात्र होइन, व्यवहारिक सीप पनि अत्यन्तै आवश्यक हुन्छ । “मुट कोर्टजस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउने, उनीहरूलाई भावी कानुनी पेशाको लागि तयार पार्ने र तर्क तथा वकालत क्षमतालाई सशक्त बनाउने काम गर्छ,” आचार्यले भने ।
उनका अनुसार मुट कोर्टमा भाग लिँदा विद्यार्थीहरूमा लिखित तथा मौखिक प्रस्तुतिको सिप अभिवृद्धि हुने, अनुसन्धान क्षमतामा निखार आउने र कानुनी भाषा तथा प्रक्रिया बुझ्ने अवसर मिल्ने गर्दछ । प्रतियोगितामा काल्पनिक मुद्दालाई लिएर प्रस्तुत गरिएको बहसले विद्यार्थीको विश्लेषणात्मक सोच र कानुनी दृष्टिकोणलाई गहिरो बनाउने अपेक्षा गरिएको थियो ।
मुट कोर्ट प्रतियोगिताको प्रत्येक इजलासमा जिल्ला अदालत र उच्च अदालतका न्यायाधीशहरू, साथै वरिष्ठ अधिवक्ताहरूले न्यायाधीशको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरूले मुद्दा बहसमा वकिलको भूमिका निर्वाह गर्दै आफ्नो पक्षमा कानुनी तर्क, संवैधानिक व्याख्या र मिसालहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागी विद्यार्थी नारायण चौलागाईंले कोशी प्रदेशमै पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुनु ऐतिहासिक भएको बताए । “हामीले किताबमा पढेको कुरा व्यावहारिकरूपमा प्रस्तुत गर्ने मौका पायौं, यो अनुभव भावी पेशागत यात्राका लागि निकै उपयोगी हुनेछ,’ उनले भने ।
मुट कोर्ट जस्ता प्रतियोगिताहरूले कानुन शिक्षालाई पुस्तकमै सीमित नराखी व्यावहारिक रूपमा जीवन्त बनाउनेतर्फ योगदान पु¥याउने विश्वास विद्यार्थी, प्राध्यापक र न्याय क्षेत्रका व्यक्तिहरूले व्यक्त गरेका छन् ।