विराटनगर । अस्पतालमा उपचाररत एक बालिकालाई ‘मृत’ घोषणा गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो गल्ती सच्याएको छ ।
अस्पतालमा उपचाररत विराटनगर ६ कि एक बालिकालाई प्रहरीले सोमबार मृत घोषणा गरेकोमा त्यसबारे हाम्रोमतले समाचार प्रकाशन गरेपछि त्यसलाई सच्याएर ‘बालिका घाइते’ बनाएको हो ।
विराटनगर–६ की ४ वर्षीया आरुषी पासवानको अहिले पनि विराटनगरको नोबेल मेडिकल कलेजको एनआईसियु कक्षमा उपचार भइरहेको छ । तर, कोशी प्रदेश प्रहरी कार्यालयले सोमबार विहान ११ बजेर ५३ मिनेटमा बालिकालाई मृत घोषणा गरेको थियो ।
प्रदेश प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेज र अनलाईनमा बालिकाको मृत्यु भएको सूचना राखिएको थियो । बालिकाको नोबलमा उपचार भइरहेको अस्पताल र आफन्तले दिएको जानकारीको आधारमा हाम्रोमतले समाचार प्रकाशन गरेपछि आफ्नो समाचार र सूचना प्रहरीले सच्याएको हो ।
प्रहरीको फेसबुक पेज र वेवसाइटमा अहिले बालिका घाइते भएको सुचना राखिएको छ । ‘मोरङको विराटनगर महानगरपालिका– ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर दीपक पासवानको ४ वर्षीया छोरी आरुषी पासवान घाईते भएकी छन् । साउन ११ गते अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा ब्रेन डेथ भएको भनि डाक्टरले जानकारी गराए अनुसार थप उपचारार्थ नोवेल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार भईरहेको छ ।’ प्रहरीको सुधार गरिएको सूचनामा उल्लेख छ ।
त्यसअघि प्रहरीको फेसबुक फेज र वेवसाइटमा बालिकाको मृत्यु भइसकेको सूचना राखिएको थियो । ‘विराटनगर–६ स्थित धुधुवा खोलामा डुबेर दीपक पासवानकी छोरी ४ वर्षीया आरुषी पासवानको मृत्यु भएको छ । उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो’ प्रहरीको सूचनामा उल्लेख थियो । प्रहरीले सूचना सच्याएको भएपनि गम्भीर गल्तीप्रति क्षमायाचनासमेत गरेको छैन ।
आइतबार दिउँसो घरनजिकैको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबेकी बालिकालाई तत्कालै विराटनगर ११ स्थित गोल्डेन अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । बालिकलाई सोमबार आफन्तले रेफर मागेर नोबेल लगेकोमा प्रहरीले मृत्यु भएको सूचना दिएको थियो । प्रहरीको गलत सूचनाको कारण कतिपय सञ्चार माध्यमले पनि बालिकको मृत्यु भइसकेको गलत समाचार संप्रेशण गरेका थिए ।
गोल्डेन अस्पतालले आफ्नो बद्नाम गर्न जिवित बालिकाको मृत्यु भइसकेको गलत सूचना प्रवाह गरिएको भन्दै आपत्ती जनाएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।