विराटनगर । कोशी प्रदेश प्रहरी अपराधविरुद्धको शून्य सहिष्णुता नीति र कानूनी राज्यको स्थापना गर्ने प्रतिबद्धतासहित फरार अभियुक्त पक्राउ अभियानमा सक्रियता देखाउँदै आएको छ। प्रहरीको सन्देश स्पष्ट छ – “अपराध गरेर भागेर धर पाउन सकिँदैन, अपराधी जसरी भए पनि पक्राउ पर्छ।”
अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष रणनीति, सूचना प्रविधिको प्रभावकारी प्रयोग र समुदायसँगको घनिष्ठ सहकार्यका आधारमा विगत केही महिनामा उल्लेखनीय सफलता हासिल गरेको हो।
कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१÷८२ मा असार मसान्तसम्म ३ हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको छ। मोरङमा १ हजार १५६ जना, सुनसरीमा १ हजार २ जना, झापामा ५३४ जना, इलाम १४६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । त्यस्तै पाँचथरमा ४२ जना, ताप्लेजुङमा ४८ जना, धनकुटामा ५७ जना, तेह्रथुम ४५ जना, भोजपुर ४४ जना, संखुवासभा २८ जना, उदयपुर २६० जना, ओखलढुंगा ६९ जना, सोलुखुम्बु १४ जना, खोटाङ ५३ जना, प्रादेशिक अनुसन्धान समूह १५ जना फरार प्रतिवादी पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।
यी अभियुक्तहरूबाट जम्मा १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन भएको छ। साथै, १४ सय १६ वर्षभन्दा बढीको कैद सजाय कार्यान्वयनमा ल्याइएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
अपराधीहरू समाजमा खुलेआम हिँडडुल गर्न पाएमा शान्ति सुरक्षामा चुनौती थपिने र अपराधीको मनोबल बढ्ने खतरा रहन्छ। यस्तो अवस्था रोक्न, अदालतका फैसला जीवन्त बनाइ न्याय प्रणालीलाई बलियो बनाउन प्रहरीको ‘फरार प्रतिवादी पक्राउ अभियान’ निरन्तर अघि बढाइएको प्रदेश प्रहरीको भनाइ छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।