लोड हुँदैछ...

मेनु

सुरक्षित देखिने घर अब हत्याको थलो , कोशी प्रदेशमा पारिवारिक अपराध उकालो

सुरक्षित देखिने घर अब हत्याको थलो , कोशी प्रदेशमा पारिवारिक अपराध उकालो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बुधबार एक छोराले आफ्नै बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ । घरायसी जग्गा विवादका कारण मोहम्मद रियाज अन्सारीले छुराले प्रहार गरी ६० वर्षीय बाबु सचिव अन्सारीको हत्या गरेका हुन् ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार छोराले बुधबार बिहान बाबुको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । जग्गा विवाद चरम सीमामा पुगेपछि मोहम्मदले आक्रोशमा आएर आफ्नै बुवामाथि धारिलो हतियार प्रहार गरेको उनको भनाइ छ ।

गम्भीर घाइते भएका सचिवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको छ। प्रहरीले आरोपित छोरालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

यसअघि २१ गते असारमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एक जघन्य हत्याकाण्ड घटेको थियो । भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले आफ्नै परिवारका चार जनाको हत्या गरेका हुन् ।

राजेन्द्रले आफ्नी १७ वर्षीया पत्नी मनिषा गिरि, ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि र ९ वर्षीय सालो सपन गिरिको हत्या गरेका थिए। प्रहरीले हत्यामा संलग्न राजेन्द्रलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

हत्याको पछाडि पारिवारिक कलह रहेको देखिएको छ । राजेन्द्र र मनिषाबीच करिब नौ महिनाअघि प्रेमविवाह भएको थियो तर समाज र परिवारमा उनीहरूको अन्तरजातीय विवाह सहज रूपमा स्वीकार्य बनेन । त्यही अस्वीकृति अन्ततः हिंसामा परिणत भएको प्रहरीको भनाइ छ ।

असार २१ गते राति राजेन्द्रले पत्नीलाई लिएर घर फर्किने तयारी गरेको तर ससुराली पक्षले सहमति नदिएपछि विवाद चर्किएको थियो । ससुराली पक्षले राजेन्द्रलाई रोक्न खोजेका थिए।
१५ गते असारमा मोरङको धनपालथान गाउँपालिकामा एक दर्दनाक घटना सार्वजनिक भयो । अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको काकै अनिष सरदारले बलात्कारपछि हत्या गरेको खुलासा भएको छ ।
बालिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालय जाने बाटोमा विभत्स अवस्थामा फेला परेको थियो। उनको अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोटपटक देखिएको थियो । अपराध लुकाउने उद्देश्यले बालिकाको हत्या गरी शव फालिएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले घटनाको अनुसन्धान थालेलगत्तै शंकाको घेरामा रहेका अनिष सरदारलाई नियन्त्रणमा लिएको थियो । सुरुमा घटना स्वीकार नगरे पनि अनुसन्धान बढ्दै जाँदा उनको संलग्नता पुष्टि हुने प्रमाण भेटिएको छ । मृतक बालिकाका हजुरबुबाको जाहेरीका आधारमा कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

यी घटनाहरू पारिवारिक अपराधको बढ्दो प्रवृत्तिका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय परिवारभित्रका सदस्यबाटै जीवनमा खतरा हुने घटनाको संख्या ह्वात्तै बढेको छ । जीवनभरी साथ दिने भनेर विवाह बन्धनमा बाँधिएकाहरू नै जघन्य अपराधको दलदलमा फसेका छन् ।
सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनुपर्ने डरलाग्दो पारिवारिक अपराधको दर निरन्तर बढिरहेको छ । भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या लगातार कोशी प्रदेशमा बढिरहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्याङ्कले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । १४ जिल्ला रहेको कोशी प्रदेशमा आर्थिक वर्षमा ८ हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेको छ ।
दर्ता भएका मध्ये झण्डै १५०भन्दा बढी कर्तव्य ज्यान मुद्दाको घटनामा परिवारिक हत्याका मात्रै ५० भन्दा बढी घटना भएका छन् । मोरङमा मात्रै आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार ६०६ वटा मुद्दा दर्ता भएको छ । दर्ता भएका मध्ये १ हजार ९२० मुद्दा फछ्र्यौट भएको छ भने ६८६ मुद्दा बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ । यसमध्ये कर्तव्य ज्यान मुद्दा १३ वटा दर्ता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वर कार्कीका अनुसार जघन्य अपराध नजिकको आफन्तबाट हुने गरेको पाइएको छ। उनले पारिवारिक किचलो, माया प्रेममा धोका सबैलाई चिन्तित तुल्याएको कारणले हत्याका घटना भएको बताए ।
पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एकअर्कामा विश्वास गुम्दा र आपसी बेमेल उत्पन्न हुँदा पारिवारिक अपराधका घटना हुने गरेको उनको भनाइ छ । ‘विभिन्न क्षेत्रमा निराश भएपछि आमुक व्यक्तिलाई दोष दिने गर्दछ । त्यसमा आफन्तलाई बाधकको रूपमा हेर्ने गर्दछन्,’ डिआइजी कार्कीले भने । ‘आवेगमा आएर जघन्य प्रकृतिका घटना घटाउने गरेका छन् ।’
प्राथमिकता दिनुपर्ने कुराभन्दा अरूतिर मानिस बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एकअर्कालाई शंकाको नजरले हेरिँदा, एकले अर्काको भावना बुझ्न नसक्दा यस्ता घटना हुने गरेको उनको भनाइ छ ।
सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाइले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ ।
‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’
पैसा र सम्पत्तिका लागि जे पनि गर्ने र गलत बाटो अङ्गीकार गर्ने चलन बढ्दा पुरानो चलन तथा संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाइले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।