विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि लिएको छात्रवृत्ति परीक्षामा कोटाभन्दा कम विद्यार्थीको मात्र सहभागिता देखिएको छ । महानगर अन्तर्गतका २६ वटा निजी उच्च माध्यमिक विद्यालयमा छुट्याइएको ७०२ छात्रवृत्ति कोटामध्ये ६७८ विद्यार्थीले मात्र परीक्षा दिएका हुन् ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउने निश्चित छ ।
‘परीक्षामा सहभागी हुने सबैले छात्रवृत्ति पाउँछन्,’ उनले भने, ‘तर, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले रोजेको विद्यालयमा पढ्न पाउने व्यवस्था छ ।’ परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरूले छात्रवृत्ति पाउने उनले बताए । ७०१ जनाको छात्रवृत्ति कोटामध्ये जेहेन्दार २७६, विपन्न २४८, आदिवासी जनजाति ७३, दलित ३६, अपाङ्गता भएका ३४ र मुस्लिम ३४ जनाको कोटा रहेको छ ।
महानगरपालिकाले मंगलबार साँझ छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा निकाल्ने भएको छ ।
गत वर्ष कक्षा ११ मा भर्ना भएको विद्यार्थीको अनुपातअनुसार कलेजले छात्रवृत्ति प्रदान गर्नुपर्दछ । भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम छ ।
छात्रवृत्ति परीक्षा दिन आएका विद्यार्थीहरूले सबैभन्दा बढी अरनिको कलेज छनौट गरेको शिक्षा महाशाखाका प्रमुख ढुङ्गेलले बताए । अरनिको कलेजमा ११८ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउनु पर्दछ । तर, यो कलेज रोज्ने विद्यार्थीको संख्या २५५ जना छन् ।
शिक्षादीप कलेजमा ११६ जनाको छात्रवृत्ति कोटा रहेको छ । यो कलेज रोज्ने १७९ जना विद्यार्थी रहेका छन् । एभरेस्ट कलेजमा १४ जनाको कोटामा १९ जना विद्यार्थीले रोजेका छन् । बिकेभिएम कलेजमा ३४ जनाको कोटामा ६८ जना विद्यार्थीले रोजेका छन् ।
अर्किड कलेजमा ६६ जना विद्यार्थीको छात्रवृत्ति कोटा रहेको छ । कान्तिपुर कलेजमा ९७ जना विद्यार्थीको छात्रवृत्ति कोटा रहेको छ । छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आफूले रोजेको कलेजमा अध्ययन गर्न पाउने शिक्षा प्रमुख ढुङ्गेलले बताए ।
‘अहिले परीक्षा दिने सबै विद्यार्थीहरूले छात्रवृत्ति पाउनेछन्,’ उनले भने, ‘उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले रोजेअनुसारको विद्यालय छनोट गर्न पाउनेछन् ।’

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।