विराटनगर । खानेपानीको अभाब झेलिरहेको सुनसरीको धरानमा संघीय सरकारले एसियाली बिकास बैंकको सहयोगमा अगाडि बढाउन खोजेको परियोजना मेयर हर्कराज साम्पाङको कारण अगाडि बढ्न सकेको छैन ।
शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफलमा खानेपानी मन्त्री प्रदिप यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको जानकारी दिएका हुन् ।प्रधानमन्त्रीसमेतको पहलमा एसियाली विकास बैंक(एडीबी)सँगको सहकार्यमा ६ अर्ब रुपैयाँ रकम विनियोजन गरी धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन संघीय सरकारले आयोजनाको काम अगाडि बढाउन खोजेको यादवले जानकारी दिए । दैनिक ४ करोड ८४ लाख लिटर पानी उत्पादन गर्ने योजनासहित अगाडि बढाउन खोजेको परियोजनालाई मेयर साम्पाङले विदेशी अनुदान स्विकार नगर्ने भन्दै अवरोध गरेका हुन् ।
मेयर साम्पाङ रित्तो गाग्री बोकेर पानी माग्दै काठमाडौं गएको स्मरण गर्दै मन्त्री यादवले सरकारले रकम विनियोजन गरी खानेपानी आयोजना अगाडि बढाउन खोज्दा विफल बनाउन लागेको बताए ।रित्तो गाग्री बोकेर विरोध गर्दैमा खानेपानी समस्या समाधान नहुने भन्दै उनले समस्या समाधान गर्न आयोजनाको काम अगाडि बढाउन मेयरसँग छलफल गर्न खोज्दा नआएको जानकारी दिए ।
आयोजनाको भदौ ७ गतेभित्र खानेपानीको टेन्डर आह्वान गरेर काम सुरु गर्ने तय भएको मन्त्री यादवको भनाइ छ । तर, मेयर साम्पाङको सहमति नहुँदा काम अगाडि बढाउन नसकेको उनले बताए । आयोजनाका लागि ८५ प्रतिशत अनुदान आउने र धरान उपमहानगरपालिकाले १५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने एडिबीको प्रस्ताव छ ।
‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई नमस्कार गर्दै किस्तीमा पैसा बोकेर पैसा लिनुस्, भनेर खोज्दै धरान आइपुग्दा समेत इन्कार गरेका छन्’ यादवले भने, ‘मैले मात्र होइन मन्त्रालयका महानिर्देशक, आयोजना निर्देशक र कर्मचारीले समेत फोन गरे तर मेयर सावले फोन उठाएनन् ।’
धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले तत्काल मेयर साम्पाङले खानेपानी आयोजनाको काम अगाडि बढाउन बाटो खुल्ला गर्नुपर्ने बताएका छन् । मेयरले राजनीतिक प्रचारबाजी गरी खानेपानी आयोजनाको काम अगाडि बढाउन अवरोध गर्दा धरानवासीलाई नै नोक्सानी हुने उनको भनाइ छ । ‘कसैको इगोले प्रोजेक्ट खारेज भए जनता प्रतिकारमा उत्रिनुपर्छ’ उनले भने, ‘यो आयोजना कार्यपालिकाबाट पास भएर गएको हो, एकल हठ त्याग्नुपर्छ ।’ बेघाले खानेपानीको परियोजना माग्ने प्रस्ताव कार्यपालिकाबाट पास भएर गएको जानकारी दिएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पनि मेयर साम्पाङकै कमजोरीले गर्दा धरानमा खानेपानीको झन् समस्या थपिएको बताए । आफ्नै चुनावी एजेण्डा रहेको कोशीको पानी धरान ल्याउने योजनाबारे मन्त्री यादव भेट्न धरान आउँदा फोन पनि नउठाई साम्पाङ सम्पर्कविहिन भएको उनको भनाइ छ ।
साम्पाङले भने विदेशी ऋण लिएर धरानमा विकास गर्न नचाहेको भन्दै त्यस्तो विकास गर्न पनि नदिने बताए । खानेपानीको लागि ३ बर्षदेखि सिंहदरबार धाउँदा ४ करोड बजेट विनियोजन गरेको र बाँकी सबै एडिबिको ऋण लिनुपर्ने भएकोले मन्त्रीलाई भेट नगरेको उनको भनाइ छ । मेयर साम्पाङले अबदेखि खानेपानीको योजना लिएर सिंहदरबार नजाने बताएका छन् ।
सरकारले धरानबासीलाई ऋणको भारी बोकाउन खोजेको आरोप साम्पाङले लगाएका छन् । तर, करिब ६ अर्ब लागत अनुमान रहेको कोशी खानेपानी योजनाको लागि एडिबिबाट आउने ८५ प्रतिशत बजेट नेपाल सरकारले धरानलाई अनुदान दिने परियोजनामा उल्लेख छ ।
मेयर साम्पाङले नै रित्तो गाग्री बोकेर सिंहदरबारमा गरेको प्रदर्शनपछि सरकारले यो आयोजना अघि बढाएको थियो । तर, असार १७ गते मन्त्रालयले आयोजनाका लागि जग्गाको स्वामित्व माग गर्दै पठाएको पत्रको जवाफमा मेयर साम्पाङले असार १९ गते ऋण नलिने भन्दै पत्र पठाएपछि यो प्रक्रिया अवरुद्ध बनेको छ ।
मन्त्री यादव खानेपानी मन्त्रालयका महानिर्देशक र आयोजना प्रमुख सहित शुक्रवार खानेपानी परियोजनाकालागी धरान आएका थिए । तर, नगर प्रमुख साम्पाङ सम्पर्कमै पुगेनन् । सरकार धराने जनताको पानी खुवाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध भएको बताउँदै मन्त्री यादवले भने ‘एक पटक प्लिज सम्झाई दिनुस् सरोकारवालाहरू सबैले, धरानको पानीको समस्या समाधान गरौँ ।’

