आठ जना स्रष्टा पुरस्कृत

विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर आइतबार विराटनगरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरियो । त्यस्तै ५० हजार राशिकै दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार महाकाव्यकार भुवनहरि सिग्देललाई, ५० हजार राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेदवेदाश्रम गुरुकुलम् चतरा सुनसरीलाई तथा ५० हजार राशिकै ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार गायत्रीकुमार चापागाईं र साहित्यकार डा. विमला श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरियो ।

प्रतिष्ठानले २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार अनुसन्धानदाता सुदीप अधिकारीलाई, २१ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार साहित्यकार मञ्जुश्री गिरी र साहित्यकार अभागी थेगुवालाई संयुक्त रुपमा प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने र पुरस्कारका संस्थापकहरुले संयुक्त रुपमा सबै पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा साहित्यकार गायत्रीकुमार चापागाईंद्वारा लिखित दुईवटा कृतिसमेत विमोचन गरिएको थियो । २०३९ सालमा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ११० जनाभन्दा बढी स्रष्टाहरुलाई पुरस्कृत गरिसकेको सचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

आइतबार, २९ असार, २०८२, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर