विराटनगर । मोरङको बेलबारीका स्रष्टा रमेश निरौलाको ‘भावका भँगालाहरू’ (गजलसंग्रह) को लोकार्पण गरिएको छ ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहेको कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालासहितले गजल संग्रह बिमोचन गरे । कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खासहितको सहभागिता थियो ।
बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाकाको परिचय प्रस्तुत गरेको कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा पत्रकार केशु विरहीले समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न योगदान दिने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।