लोड हुँदैछ...

मेनु

झापाका चिया उद्योग पनि अनिश्चितकालीन बन्द

झापाका चिया उद्योग पनि अनिश्चितकालीन बन्द

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित भएपछि झापाका चिया उद्योगहरु पनि बन्द हुने भएका छन् ।

असार १ गतेबाट इलामका चिया उद्योग बन्द भएकोमा झापाका चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा चिया बगान बन्द गर्ने घोषणा गरेका छन्।

नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै भारतीय पक्षको नयाँ प्रावधानले नेपाली चिया निर्यात लगभग ठप्प बनेको जनाएको छ । अहिले उद्योग सञ्चालन असम्भवजस्तै भएको भन्दै आन्दोलनस्वरूप उद्योग तथा बगान बन्द गर्न लागिएको संघले जनाएको हो।

नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले भारतले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया सहज रूपमा निर्यात गर्न नसकिएको बताए। उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै चिया क्षेत्र जोगाउन तत्काल कूटनीतिक र नीतिगत पहल आवश्यक रहेको उल्लेख गरे।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको छ। त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ।

भारत नेपाली चियाको प्रमुख बजार भएकाले निर्यातमा आएको अवरोधले समग्र चिया उद्योग नै संकटमा परेको उद्योगीहरूको भनाइ छ। उद्योगीहरूले भारतमा निर्भरता कम गर्दै बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा नेपाली चियाको बजार विस्तार गर्न सकिने बताएका छन्। त्यसका लागि आवश्यक कूटनीतिक पहल, व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।

चिया क्षेत्रले देशभर करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। साथै यस क्षेत्रबाट राज्यले वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको तथ्याङ्क छ।

उद्योगीहरूले सरकारले तत्काल समस्या समाधानतर्फ पहल नगरे चिया उद्योग, किसान, श्रमिक र निर्यात व्यापार सबै गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्। उद्योग तथा बगान बन्द गर्ने निर्णयसँगै पूर्वी नेपालका चिया उत्पादक क्षेत्रहरूमा किसान र श्रमिकको चिन्ता थप बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।