विर्तामोड । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रष्टाचार र अनियमिततासम्बन्धी सबै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन्।
मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचारका सबै प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरे। उनले अनुसन्धान कानुनी प्रक्रिया र विधिको शासनभित्र रहेर हुनुपर्नेमा जोड दिए।
दोषी जोसुकै भए पनि कानुनी प्रक्रिया र विधिको शासनअनुसार कारबाही हुनुपर्ने थापाको भनाइ छ । छानविनमा कांग्रेसका नेता परेपनि पार्टीले जोगाउने प्रयास नगर्ने स्पष्ट पार्दै उनले भने, “सबै फाइल खोल्नुस्, सबै काण्डको अनुसन्धान गर्नुस्। त्यसमा कांग्रेसका नेता परे भने पनि हामी जोगाउन खोज्दैनौं। तर, अनुसन्धान लहडका भरमा होइन, कानुनी प्रक्रियाअनुसार हुनुपर्छ।”
थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता–कार्यकर्तालाई लक्षित गर्दै अब पार्टीको डिजिटल प्रणालीले अद्यावधिक नभएका सदस्यलाई नचिन्ने बताएका छन् । उनका अनुसार वडादेखिका अधिवेशनमा नाम नै नआउने भएकाले भोट हाल्नसमेत नपाइने अवस्था रहनेछ।
“अद्यावधिक नगर्नुभएको साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन,” उनले भने, “वडा अधिवेशन सुरु हुँदा अद्यावधिक नभएका साथीहरूको नाम सूचीमा आउँदैन।”
पछिल्ला आठ–दस वर्षमा नेपाली कांग्रेसलाई कमजोर बनाइएको भन्दै उनले पार्टीलाई पुनः भरोसायोग्य बनाउन आफूहरू अभियानमा रहेको बताए। पार्टी सुधारको यात्रामा अवरोध सिर्जना गर्ने प्रस्तावहरू स्वीकार नगर्ने उनको भनाइ थियो।
“बीपी कोइरालाले बनाएको पार्टीलाई पछिल्लो आठ–दस वर्षमा छियाछिया पारियो। अहिले सुधार गर्ने संकल्प लिएर आएका छौं। यस यात्रालाई रोक्ने प्रस्तावहरू स्वीकार हुँदैनन्,” उनले भने। थापाले पार्टीको नेतृत्वमा नयाँ पुस्ता अघि आउन थालेकोमा खुसी व्यक्त गर्दै अब कांग्रेसलाई युवाले सम्हाल्ने विश्वास व्यक्त गरे। लामो समय एउटै पदमा अड्किएर बस्ने संस्कृतिले पार्टी चल्न नसक्ने उनको टिप्पणी थियो।
पार्टीलाई भागबण्डाभन्दा संस्थागत प्रक्रियाअनुसार अघि बढाइने उल्लेख गर्दै थापाले १४औँ महाधिवेशनबाट बनेको संरचना र विशेष महाधिवेशनबाट आएको संरचनालाई एकै ठाउँमा मिसाउने प्रस्ताव विधानविपरीत हुने भएकाले आफूले त्यस्तो काम गर्न नसक्ने बताए। “१५औँ महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षलाई समेट्न तयार छौं, तर विधान मिचेर संरचना जोड्ने काम म गर्न सक्दिनँ,” उनले भने।
थापाले पार्टीको प्रतिष्ठा र जनविश्वास पुनः स्थापित गर्न घरघरमा पुगेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै एक वर्षभित्र कांग्रेसलाई भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।