विराटनगर । ऋणको सावाँभन्दा तीन गुणा बढी रकम तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको र उल्टै साहुबाट धम्की खेप्नुपरेपछि आत्महत्या गरेकी विराटनगर–१४ महत टोलकी ५३ वर्षीया शान्तिदेवी महतोको परिवार र जिल्ला प्रशासन कार्यालय मोरङबीच ५ बुँदे सहमति भएको छ ।
सहमतिसँगै गत असार ८ गतेदेखि प्रशासनको मूल गेटमा धर्ना दिइरहेका आफन्त र अधिकारकर्मीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । मंगलबार भएको वार्तामा प्रशासनले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारले कोशी अस्पतालमा रहेको शव बुझ्न सहमति जनाएका हुन् । गत वैशाख ६ गते गुप्ता परिवारले घरमै पुगेर जग्गा खाली गर्न र ज्यान मार्ने धम्की दिएपछि विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्ट वैशाख ७ गते आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।
यस्तो छ ५ बुँदे सहमति
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र पीडित पक्षबीच भएको सहमतिमा घटनाको निष्पक्ष छानबिन गर्ने पहिलो बुँदा उल्लेख छ । यस्तै, मृतकका पति भोमा महतोलाई योग्यताका आधारमा रोजगारीका लागि उद्योग वाणिज्य संघ मोरङसँग पहल गर्ने र मृतकका दुई छोरीको माध्यमिक तहसम्मको शिक्षाका लागि प्याब्सन मोरङमार्फत छात्रवृत्तिको व्यवस्था गर्ने सहमति भएको छ ।
उच्च शिक्षाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने र मिटरब्याज सम्बन्धी कानुनी जटिलता फुकाउन पहल गर्ने सहमतिमा उल्लेख छ । वार्तामा सहभागी विराटनगर–१४ का वडाअध्यक्ष सूर्य नारायण महतोले विपन्न नागरिकमाथि भएको यो चरम शोषण भएको र दोषीले कुनै हालतमा उन्मुक्ति पाउन नहुने बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा श्रीनारायण गुप्ता र उनका छोरा अमन गुप्तालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘‘सुन्दरी गुप्तालाई भने स्वास्थ्य अवस्थाका कारण हाल हाजिर जमानीमा छाडिएको छ । पछि अभियोग अदालतमा दर्ता हुँदा उनलाई पनि प्रतिवादी बनाइन्छ,’’ उनले भने ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।