विराटनगर । हाम्रोमत दैनिकका प्रमुख संवाददाता अनिल श्रेष्ठसहित चार जना पत्रकार पुरस्कृत भएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच पत्रकार श्रेष्ठसहित अन्य तीन जना पत्रकारलाई सम्मान गरिएको हो।
सक्रिय पत्रकार श्रेष्ठलाई २१ हजार राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार २०७८’ प्रदान गरिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष तथा नेपाल खोज अनलाइनका सञ्चालक सुवास ढकाललाई ५१ हजार राशिको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष तथा उद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेललाई ५० हजार राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
त्यस्तै, कोशी सन्देशकी पत्रकार रुमा दाहाल निशालाई १० हजार राशिको ‘मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जुङ, मोरङ अध्यक्ष सुशिला पाठक, तथा सञ्चारकर्मी सञ्चार सहकारी लिका अध्यक्ष दिपक दाहाललगायतले शुभकामना व्यक्त गरेका थिए।
