काठमाडौं । हुँदै नभएको काल्पनिक विद्यालय देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । डोल्पामा यस्तो भएको हो ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दयार गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनीहरूले आपसी मिलेमतोमा ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरेको आयोगको अभियोग छ । २०६६÷०६७ मा डोल्पाको साविक दुनै गाविस–२ र ३ मा अवस्थित नभएको ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’को नाममा विद्यालय भवन निर्माणको योजना पारिएको र त्यसअन्तर्गत रकम निकासा भएको पाइएको थियो ।
अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यस स्थानमा कहिल्यै सञ्चालनमा नरहेको जिल्ला शिक्षा कार्यालय डोल्पाको पत्र र अख्तियारको प्राविधिक टोलीद्वारा संकलित स्थलगत तथ्यहरूले पुष्टि गरेको आयोगले जनाएको छ ।
उक्त विद्यालयको नाममा २ कोठे भवन निर्माणका लागि ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको थियो । तर, भवन नबनाइ नक्कली उपभोक्ता समिति बनाएर फर्जी कागजात तयार पारिएको र सोही आधारमा उक्त रकम बैंक खातामार्फत भुक्तानी लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारले चारै जनालाई जनही ७ लाख ६० हजार बिगो कायम गरेको छ ।